काठमाडौं । नेपाली कांग्रेसले नौ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ । हिजोको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको हो ।
म्याद सकिएका भातृ संघसंस्थाको अधिवेशन गराउन नसकेपछि कांग्रेसले पटक–पटक म्याद थप गर्दै आएको छ । पदावधि सकिएको मितिले भातृ संस्थालाई छ महिना म्याद थप गर्ने निर्णय भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद छ महिना थप गरिएको हो ।
कांग्रेसका अधिकांश भातृ संस्था समयमै अधिवेशन भएका छैनन् । वर्षौंदेखि अधिवेशन नभएका भातृ संस्थालाई पनि विना कानुनी आधार म्याद थपिएकोमा नेतृत्वको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्