काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन भएको छ ।
चालू वर्षको पहिलो २९ दिनमा सरकारले लक्ष्यको ७ दशमलव ५९ प्रतिशत अर्थात् झण्डै ८७ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।
गत वर्ष सोही अवधिमा सरकारले जम्मा ५५ अर्ब ४५ करोड अर्थात् लक्ष्यको ५ दशमलव ४८ प्रतिशत राजस्व संकलन गरेको थियो । चालू वर्षमा संकलन भएको राजस्वमा गैरकर राजस्वको संख्या ह्वात्तै बढेको देखिएको छ ।
कोरोना प्रभावले अघिल्लो वर्ष निकै कम गैरकर उठेको बताइए पनि चालू वर्षको पहिलो २९ दिनमा झण्डै लक्ष्यको १४ दशमलव ९१ प्रतिशत अर्थात् १६ अर्ब ९१ करोड रुपैयाँ संकलन भएको छ ।
त्यस्तै ७० अर्ब ४५ करोडको हाराहारीमा कर राजस्व संकलन भएको छ । अर्थतन्त्र सामान्य अवस्थामा फर्किन थाल्दा आर्थिक गतिविधि बढ्न गई आयातमा वृद्धि हुँदा राजस्व संकलनमा पनि प्रभाव पारेको अर्थमन्त्रालयको भनाइ छ ।
त्यस्तै खर्चतर्फ एक महिनामा लक्ष्यको आधा प्रतिशत पनि हुन सकेको छैन । सरकारले २९ दिनको अवधिमा लक्ष्यको शुन्य दशमलव ४८ प्रतिशत अर्थात् सात अर्ब ९० करोडमात्र खर्च गर्न सकेको छ । त्यसमा पनि पुँजीगत खर्चको अवस्था निकै निराशाजनक देखिएको छ ।
२९ दिनमा ८७ करोड रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै चालूतर्फ सात अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्