काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लाई चेतावनी दिनुभएको छ ।
सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत सावित गराउनुभएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने बताउनुभयो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् । अब यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन, आगामी निर्वाचन पछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दावा हो ।’
सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हाँस्यास्पद तर्क गरिरहेको दावी समेत गर्नुभयो । उहाँले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्दार गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्