१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले २० वर्ष अघि लिजमा दिएका इलाम र झापाका चिया बगान फिर्ता गर्न स्थानीय तहको माग (भिडियोसहित)


0
Shares

प्रकाश नेपाल
इलाम । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न संघीय सरकारसँग माग गरेका हुन् ।

इलामको सूर्योदय, इलाम, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति नगरपालिका र बाह्रदशी गाउँपालिकाले निजीकरण भएका चिया विकास निगमका बगान फिर्ता गर्न माग गरेका छन् ।

२०५७ साल असार १४ मा भएको सम्झौता अहिलेको अवस्थामा सापेक्ष नभएकाले सम्झौता भंग गरी स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका हुन् । श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयनमा उदासिनता तथा उद्योगका महत्वपूर्ण उपकरण हराएकाले स्थानीय तहलाई सञ्चालनको जिम्मा दिन संघीय सरकारसँग माग गरेका छन् । इलाम र झापाको ६ वटा स्थानीय तहमा निजिकरण गरिएका ७ वटा चिया बगान फिर्ता गर्नुपर्ने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताउनुभयो ।

लिज सम्झौतामा उल्लेख भएको चिया बगानहरुबाट स्थानीय तहमा बुझाउनुपर्ने कानुन बमोजिमका कर निगम व्यवस्थापन पक्षले बुझाएको छैन । व्यवस्थापन पक्षले चिया श्रमिकको न्यूनतम ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भएका व्यवस्था पूरै बेवास्ता गरेपछि निजीकरण फिर्ताको माग गरेको माई नगरपालिका प्रमुख दिपक थेवेले बताउनुभयो ।

सरकारले चियाको इतिहास बोकेको इलाम चिया बगान, कन्याम, सोक्तिम, चिलिमकोट लिजमा दिएको थियो । त्यस्तै झापाको बुद्धशान्ति, बाह्रदशी र टोक्ला चिया बगान तत्कालिन चिया विकास निगम मातहतबाट त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा रहनेगरी लिजमा दिएको हो ।