काभ्रे । काभ्रेको नालामा युवाहरूको सक्रियतामा आकर्षक पार्क निर्माण भएको छ ।
बनेपा नगरपालिका वडा नम्बर २ र ४ को सीमास्थित बाघ खोरमा स्थानीय आफैँले रकम संकलन गरेर आकाशदेवी सामुदायिक पार्क निर्माण गरेका हुन् । केहि समय अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा पार्क बनेसँगै चहपहल बढेको छ ।
१ सय रुपैयाँ उठाएर सुरु गरिएको अभियानमा ३ लाख रुपैयाँ संकलन भएको युथ आइज क्लवका संयोजक सन्तोष गौतमले जानकारी दिनुभयो । उठेको रकमले ट्रष्ट निर्माण, बाघको प्रतिमा निर्माण, बस्ने ठाउँको निर्माण गर्नुका साथै दुई वटा नेपालको झण्डा राखिएको छ ।
थप सहयोग प्राप्त भए भ्यू टावर, पिकनिक स्पट र आकर्षक बगैंचा निर्माण गर्ने योजना रहेको संयोजक गौतमले बताउनुभयो । पार्क निर्माणले प्राकृतिक वातावरणलाई यथावत राख्दै जंगलको बीचमा भएको खाली ठाउँको सदुपयोग भएको स्थानीय केदार गौतमले बताउनुभयो ।
पहिले बाघले दुुःख दिएकाले बाघ समाउनको लागि उक्त स्थानमा खोर निर्माण गरिएको स्थानीयको भनाइ छ । भ्यू टावर निर्माण भए यहाँबाट बनेपा, धुलिखेल, भक्तपुर र काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ । दुई वटा वडाको सीमा क्षेत्रमा परेकाले दुवै वडाले यो क्षेत्रलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्