१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङमा विवाद बढेपछि खेल मैदान अलपत्र(भिडियोसहित)


0
Shares

दिवस रिजाल
खोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान निर्माण अलपत्र परेको हो ।

एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको छ ।

वातावरण परीक्षणको माग गर्दै खेल मैदान निर्माण रोक्न जिल्ला वन कार्यालयमा उजुरी दिएपछि वन कार्यालयले तत्काल खेलमैदान निर्माण रोक्न नगरपालिकालाई पत्र पठाएको छ । नेकपा माओवादी केन्द्रले ऐतिहासिक होलेसुङगढीलाई असर पुग्ने र चण्डीडाँडा सामुदायिक वनमा क्षति पुग्ने भन्दै विभिन्न निकायमा उजुरी गरेपछि खेलमैदान निर्माणको काम बिचैमा अलपत्र परेको छ । नगरमा कांग्रेसबाट निर्वाचित नगर प्रमुख र उपप्रमुख रहेका कारण सत्ता समिकरण एकातिर छोडेर माओवादी केन्द्रले ती जनप्रतिनिधिलाई असफल बनाउन षडयन्त्र गरिएको स्थानीय सुबास राईको आरोप छ ।

यता, पूर्व गाविस अध्यक्ष कुबेरमणी राईले चार सय वर्षअघि होलेसुङका सन्तानले शासन गर्दा तालिम केन्द्रकारुपमा प्रयोग गरेका कारण घुमाउरोचौरलाई वन कार्यालयले संरक्षण गर्नुपर्ने भन्दै खेल मैदान रोक्न माग गरेका छन् ।

खोटाङकै हलेसीमा भने फुटबल, भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट, ब्याडमिन्टन लगायतका खेलकुद सञ्चालन गर्न मिल्ने गरी खेल मैदान निर्माण धमाधम भइरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले खेल मैदान निर्माणबाट ग्रामीण क्षेत्रमा रहेका खेलप्रेमी युवाहरुलाई राहत मिल्ने बताउनुभयो ।

दश स्थानीय तह रहेको यो जिल्लामा खैल मैदानमा बखेडा झिकेर विकास नै अवरोध हुने गरी राजनीतिककरण गर्नु दुखद कुरा हो । सामान्य कुरालाई छोडेर निर्माण हुन लागेको खेलमैदान निर्माणमा सबै निकाय एक भएर लाग्नुको विकल्प छैन ।