१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रतिपक्षीको सक्रियता र विदेशी शक्तिको चासोमा निर्भर गठबन्धनको आयु’


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । सत्ता गठबन्धनका प्रमुख पात्र हुनुहुन्छ, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दल नेकपा एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्यि जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी ।

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीको केन्द्रीकृत शासन र अहमको परिणाम तत्कालिन नेकपा छिन्नभिन्न हुँदै नेकपा एमालेमा समेत चर्को द्वन्द्वको परिणाम हो अहिलेको सत्ता गठबन्धन । यो गठबन्धन सिद्धान्तको राजनीति भन्दा सुविधाको राजनीतिका लागि बनेको राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरकाे बुझाइ छ ।

‘जुन–जुन ट्रेडमार्ककबाट उहाँहरुले राजनीति गरिरहनुभएको छ, तत्कालिन अवस्थालाई कसरी सम्बोधन गर्ने, त्यसै अनुसारको नीति र विधि ल्याउनुहुन्छ,¬’ उहाँ भन्नुहुन्छ, ‘न कांग्रेस, न कम्युनिष्ट कुनै पनि पार्टीमा परम्परागत अभ्यासमा चलेको पाइँदैन । समानता भनेको सबैले सुविधानको राजनीति गर्न चाहिरेका छन् ।’

तत्कालिन नेकपा, एमाले र जनता समाजवादी पार्टीमा सत्ताको भागबण्डा नमिल्दाको परिणाम हो, अहिलेको गठबन्धन । गठबन्धन पदकै लागि बनेको राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईंकाे भनाइ छ । सैद्धान्तिक, वैचारिक आस्था र आदर्शका लागि भन्दा पनि प्राप्तिका लागि अहिलेको गठबन्धन बनेको उहाँको बुझाइ छ । अहिलेसम्म बनेका गठबन्धनमा पद, हिस्सा र राजनीतिक सक्रियताका लागि भएको र अहिले बनेको गठबन्धनले पनि सोही ट्र्याक समातेको उहाँ बताउनुहुन्छ ।

भलै गठबन्धन आगामी आमनिर्वाचनसम्मै तन्काउने योजना प्रचण्डले सुनाइसक्नुभएको छ । तर, प्रतिपक्षी दलको सक्रियता र विदेशी शक्तिको चासोसँग गठबन्धनको आयु निर्भर गर्ने देखिने राजनीतिक विश्लेषक पिटर बताउनुहुन्छ । ‘एकताको आधार के त ? अहिलेसम्म स्पष्ट गर्न सक्नुभएको छैन । अस्पष्ट भिजनका कारण गठबन्धनमा समस्या आउनसक्छ,’ उहाँ भन्नुहुन्छ, ‘प्रतिपक्षी ओली र विदेशी शक्तिहरुको सक्रियताले गठबन्धनको आयु निर्धारण गर्छ ।’

कुनै पद्धति वा जनताको सेवामुखी गठबन्धन होइन यो, नेताको स्वार्थको गठबन्धनको सहकार्य त टुट्न सक्छ नै । गठबन्धनको आयु निर्वाचन गराउने बेलासम्म टिक्न सक्ने अर्का विश्लेषक चापागाईंको बुझाइ छ । निर्वाचन अघि पनि गठबन्धन छुट्नसक्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘छुट्नको लागि राष्ट्रिय विषयबस्तु नै चाहिँदैन, दुई शीर्ष नेताबीच स्वार्थ मिलेन भने भोलि नै पनि छुट्न सक्छन् ।’

त्यसमाथि विगतका गठबन्धन कसरी बने र कसरी भत्किए भन्ने विषय हामीमाझ घामजत्तिकै छर्लङ्ग छ । एकथरी राजनीतिकको बहादुरी नै गठबन्धन भत्काउने अनि स्वार्थ केन्द्रीत नयाँ–नयाँ गठबन्धन बनाउनेमै रहेकाले अहिलेको सत्ता गठबन्धनको आयु ज्योतिषीले बताउन नसक्ने स्थिति छ ।