
काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिट बुधबार बेञ्च बस्न नभ्याएपछि रोकिएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार रिट दर्ता गराउनुभएको थियो ।
साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि शाक्यले असन्तुष्टि जनाउनुभएको छ । आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ ।
मन्त्रिपरिषदका निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्