१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यादवचन्द्र शर्माद्वारा बागमती प्रदेश प्रमुखको शपथ ग्रहण


0
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त प्रमुख यादवचन्द्र शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६७ बमोजिम शपथ गराएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बागमती प्रदेशको प्रदेश प्रमुखमा शर्मालाई नियुक्त गर्नुभएको थियो । बिहीबारको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संखुवासभाका शर्मा माधवकुमार नेपाल निकट मानिनुहुन्छ ।

यसअघि बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं प्रदेश प्रमुख हुनुहुन्थ्यो । बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा पनि प्रदेश प्रमुख परिवर्तन गर्नुभएको थियो ।