२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


गुमनाम कलाकार जीवराम प्रति समर्पित महारक्त गणपतिकाे मास्टरपिस पाैभा चित्र (भिडियाे)


65
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । प्रतिभाशाली धेरै नेपाली व्यक्तित्वहरू इतिहासमा पनि समेटिएका छैनन् । तर, विदेशको इतिहासमा भने लिपिबद्ध छन् । यिनैमध्ये एक हुनुहुन्छ १४ औं शताब्दीका पौभा कलाकार जीवराम, जसले तिब्बतमा नेपाली पौभा कलालाई स्थापित गर्नुभयो । तर, उहाँको विषयमा नेपाली इतिहासमा नामनिसान छैन ।

१४ औं शताब्दीका पौभा कलाका सिद्धहस्त कलाकार जीवरामप्रति समर्पित गर्दै वरिष्ठ परम्परागत पौभा कलाकार लोक चित्रकारले महारक्त गणपतिको मास्टर पिस पौभा चित्र बनाउनुभएको छ । उहाँले १६ वर्षको अथक प्रयास र साधनापछि कोरेको महारक्त गणपति गुमनाम कलाकार जीवरामको सम्मानमा समर्पित गर्नुभएको छ । चित्रकारका अनुसार नेपालको कला इतिहासमा जीवरामको बारेमा कहीँ कतै उल्लेख छैन । तर, तिब्बेतियन स्रोतमा भने उल्लेख छ ।

उहाँले तिब्बतमा गएर नेवार बौद्ध पौभा कलालाई स्थापित गर्नुभएको थियो । नेपाल संवत ५ सय ५५ को जीवरामको नोट बुक तिब्बती स्रोतबाट प्राप्त भएको छ । यसमा जीवरामले तिब्बतमा के–के पौभा चित्र बनाउनुभयो भन्ने उल्लेख गरिएको चित्रकार बताउनुहुन्छ ।

त्यसैले जीवरामको सानो रक्त गणेशको पौभाबाट प्रभावित भएर मौलिक धार्मिक र शास्त्रीय मान्यताका आधारमा नेवार बौद्ध शैलीमा महारक्त गणपतिको पौभा चित्र बनाएको उहाँको भनाइ छ । यो मेरो साधना हो जुन मैले जीवरामप्रति सर्मर्पित गरेँ चित्रकारले भावुक हुँदै भन्नुभयो ।

नोटबुकका आधारमा मात्र जीवरामको जानकारी भएकोले अब सत्यतथ्य बाहिर ल्याउन सरकारले खोज अनुसन्धान गर्नुपर्नेमा उहाँको जोड छ । नेपालको इतिहासमा धेरै यस्ता गुमनाम प्रतिभावान व्यक्तित्वहरू छन् जसको तथ्य बाहिर ल्याउनुपर्छ ।

१२ वर्ष लगाएर तयार गरिएको बसुन्धराको चित्रसहितको चित्रकारको रक्त गणपतिको चित्रकला थंबहीलस्थित म्युजियम अफ नेपाली आर्टमा प्रदर्शनीमा राखिएको छ । पौभा चित्र धर्म, संस्कृति र जीवनपद्धतिलाई जीवन्त राख्ने साधन रहेको उहाँको भनाइ छ । बेरी शैलीमा मौलिक शास्त्रीय मान्यताअनुसार कोरिएको चित्रमा अष्टमंगल नारीस्वरूपमा, फूलको वर्षा र बीज मन्त्रहरूका कारण विशेष छ ।

यसको २५ थान विशेष प्रतिलिपिसमेत तयार पारिएको छ । जुन कला अनुरागी र पारखीहरूको लागि हो । पूर्खाले सदियौं लगाएर बनाएको कला सभ्यता बचाउने हो भने इतिहासमा गुमनाम यस्ता कलाकारहरूलाई उजागर गर्न जरुरी छ । यसका लागि अध्ययन अनुसन्धान आवश्यक छ जुन नेपालको गर्व हो ।