१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा वित्तिय पहुँच बढ्दै, ६७ प्रतिशत नेपालीको आफ्नै बैंक खाता


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय नेपालीको वित्तिय पहुँचको अवस्थामा सुधार हुँदै गएको जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेकोे वित्तिय पहुँच सम्बन्धी प्रतिवेदनअनुसार नेपालमा वित्तिय साक्षरता एवं वित्तिय पहुँचमा वृद्धि भएको हो । राष्ट्र बैंकले यस अवधिमा ६७.३ प्रतिशत नेपालीको आफ्नै खाता रहेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५ हजार ९ सय ७८ पुगेको छ । ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या ३ करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार माथिरहेको छ ।

२०७७ जेठ मसान्तसम्ममा ३ करोड १८ लाख ८६ हजार निक्षेप खातामध्ये नेपाली प्राकृतिक व्यक्तिको २ करोड ९९ लाख २८ हजार निक्षेप खाता रहेका छन् । तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एकमात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

२०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेको जनाइएको छ । पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेको पनि जनाइएको छ ।