१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुकुम पूर्वका सबै आइसोलेसन खाली


0
Shares

रुकुम । कोरोना संक्रमितका लागि बनाइएका रुकुम पूर्वका आइसोलेसन खाली भएका छन् । भूमे गाउँपालिका र रुकुम(पूर्व) अस्पतालमा भएका संक्रमित डिस्चार्ज भएसँगै आइसोलेसन खाली भएका हुन् ।

अस्पताललाई नै हस्तान्तरण गरिएको सिस्ने गाउँपालिकाको आइसोलेसन पनि खाली भएको छ । जिल्लास्थित सबै आइसोलेसनका संक्रमित निको भएर घर फर्केपछि साउन ३२ गतेदेखि सबै आइसोलेसन खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।

पुथाउत्तरगङ्गा गाउँपलिकाको आइसोलेसन यसअघि नै खाली भइसकेको थियो । अहिले जिल्लामा २५ सक्रिय संक्रमित रहेका र उनीहरू सबै होम आइसोलेसशनमा छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५ सय ४१ मा कोरोना पोजेटिभ देखिएकामा ५ सय १० जना निको भइसकेका र १३ को मृत्यु भएको थियो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित घट्दै गएको पाइएको छ । अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्यचौकीबाट कोरोनाको परीक्षण भइरहेकामा संक्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोतव्यक्ति गिरीले जानकारी दिनुभयो ।