
काठमाडौं । आज जनैपूर्णिमा । नेपालका तागाधारी समुदायले आज रक्षा बन्धन तथा यज्ञोपवित (जनै) धारण गरी यो पर्व मनाउँदैछन । साउन शुक्ल पूर्णिमाको दिन चुडाकर्म गरेका तागाधारी समूदायले वैदिक विधीपूर्वक मन्त्रण गरिएको जनै धारण गर्ने गर्दछन् ।
चुडाकर्म नगरेका तागाधारी र अन्य समुदायले नाडीमा रक्षाबन्धन धारण गर्दछन् । आज विहानै नदी, तलाउ वा तीर्थमा पुगेर स्नान गरी शुद्ध भएर विधिपूर्वक जनै तथा रक्षाबन्धन धारण गर्ने गरिन्छ ।
जनैको ६ वटा शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म र योगको रुपमा लिने गरिन्छ । जनैलाई ब्रह्मसूत्र वा ज्ञानधागोको रुपमा पनि लिने गरिन्छ । काश्यप, अत्रि, गौतम, भारद्वाज, जमदग्मी, वशिष्ठ र विश्वामित्र ऋषिलाई कुश, कालो तिल र जलको तर्पण दिइने भएकाले यो पर्वलाई ऋषि तर्पणी पूर्णिमाको रुपमा पनि लिने गरिन्छ ।
यस पूर्णिमाको अघिल्लो दिन बाबुआमा नभएकाहरुले कपाल मुण्डन गरी स्नान गरेर एकछाक खाने चलन रहेको छ । यो पर्व मनाउन आज काठमाडौंको पशुपतिनाथ, रसुवाको गोसाईकुण्ड लगायतका तीर्थस्थलमा मानिसहरुको भीड लाग्ने गर्दछ ।
पशुपतिनाथलाई पनि आजै जनै फेराउनु पर्ने भएकाले मन्दिरका मूल पूजारीले भने अघिल्लो दिन नै नयाँ जनै धारण गर्ने चलन रहेको छ । जनै फेरिएपछि भगवान पशुपतिनाथ गोसाईंकुण्ड स्नानका लागि जानुहुन्छ भन्ने विश्वास रहेको छ । त्यसैले जनैपूर्णिमाको भोलिपल्टसम्म पशुपतिनाथ मन्दिर बन्द रहने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्