१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काबुल विमानस्थलमा इस्लामिक स्टेटको आक्रमण हुनसक्ने अमेरिकी चेतावनी


0
Shares

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेटबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

काबुल विमानस्थल बाहिर बढ्दै गएको अराजकताका बीच गएराती अफगानिस्तानमा रहेका अमेरिकीहरुका लागि सुरक्षा सल्लाह जारी गर्दै अमेकिाले अफगानिस्तास्थित आइएसको शाखाबाट काबुल विमानस्थलमा रहेका अमेरिकीहरुमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो ।

विशेष गरी विमानस्थलको गेट बाहिर रहेका अमेरिकीहरु आइएसको निशानामा पर्नसक्ने चेतावनी दिइएको छ । यस्तै अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने ब्यक्ति तथा संस्थाहरुलाई पनि सचेत गराइएको छ ।

अहिलेसम्म सार्वजनिक रुपमा कतैबाट आक्रमणको चेतावनी नआए पनि अमेरिकाले संभावित खतराप्रति सचेत गराएको विश्लेषण गरिएको छ ।

तालिवानको त्रासले अफगानिस्तान छाड्न चाहनेदेखि त्यहाँको पूर्ववर्ती सरकारसंग काम गरेका तथा नेटो गठबन्धनलाई सघाएका मानिसहरुको भीड विमानस्थल बाहिर थामिनसक्नु बढेको छ । शनिबार विमानस्थल बाहिर उर्लेको भीडलाई अहिलेसम्मकै खराब दिन भनिएको छ ।

२ हजार ५ सय अमेरिकीसहित अहिलेसम्म १७ हजार जनालाई अफगानिस्तान बाहिर पुर्याइएको पनि अमेरिकी भनाइ छ ।

जर्मन सरकारले पनि काबुल विमानस्थलको सुरक्षा अवस्था भयंकर खतरनाक अवस्थामा रहेको भन्दै विमानस्थलमा प्रवेश गर्ने कुरा संभव नरहेको बताएको छ ।

यस्तै स्वीस विदेश मन्त्रालयले पनि पछिल्ला घण्टाहरुमा काबुल विमानस्थलको सुरक्षा अवस्था विग्रिएको बताएको छ ।

तालिवानले काबुलमा कब्जा जमाए पनि काबुल विमानस्थल अहिलेसम्म अमेरिकी फौजको नियन्त्रणमा रहेको छ ।