एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थल बाहिर सात जना अफगानी नागरिकको मृत्यु भएको छ ।
देश छाड्न तयार भएर विमानस्थल बाहिर बसेको भीडमा च्यापिएर साता जनाको मृत्यु भएको बेलायतको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको अवस्था एकदमै चुनौतीपूर्ण बनेको बताएको छ । सुरक्षा स्थिति सम्हाल्न सक्नेजति सेनाले सम्हालिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
अहिले हजारौं अफगानी नागरिक देशबाट बाहिर निस्कन चाहँदा काबुल विमानस्थलमा भीडको माहोल बनेको छ । अन्य देशले पनि आफ्ना देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास जारी राखेकाले पनि त्यहाँको अवस्था एकदम खराब रहेको छ । विमानस्थलको सुरक्षाका लागि हजारौंको संख्यामा सुरक्षाबल प्रयोग गरिएको छ ।
काबुलको हामिल कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ सय अमेरिकी र ९ सय बेलायती सेना तैनाथ छन् । विमानस्थल वरपरको चेक प्वाइन्टमा तालिबानका लडाकु रहेका छन् । विना भिसा र पासपोर्ट विमानस्थल जाने अफगानी नागरिकहरूलाई तालिबानले रोकिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्