१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केन्द्रले तोक्यो प्रदेश र जिल्लाका इन्चार्ज र पदाधिकारी


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उहाँले बताउनुभयो ।

बैठकले सबै केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी निश्चित गर्ने काम गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दूमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको उहाँले बताउनुभयो । पार्टीले निर्वाचन निर्देशिका तयार गरेर तल्ला तहहरूमा पठाउने सोही अनुरुप अधिवेशनका कामहरू सम्पन्न हुने उहाँको भनाइ छ ।

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत् रूपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरूसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो पार्टीलाई व्यवस्थित गर्ने, विधिसंगत् ढंङ्गले, संस्थागत ढङ्गले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रुपान्तरण गर्ने कुरालाई केन्द्रविन्दूमा राख्दै अरु सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू सँग पनि एकता र ध्रुविकरणको निम्ति वार्ता गर्न, पहल गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने पनि निर्णय गरेको छ ।’

मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद विस्तार हुने बताउनुभयो ।