
काठमाडौं । उखु किसानहरूले अझै उखु बिक्री बापतको भुक्तानी पाउन सकेका छैनन् । वर्षैपिच्चे भुक्तानीको माग गर्दै राजधानी आएर आन्दोलन गर्ने अनि सरकारी आश्वासनमा फर्किनु उनीहरूको नियति बनेको छ ।
पछिल्लो पटक सरकारी आश्वासनमा आन्दोलन छाडेर गाउँ फर्किएर केहीको धेरथोर भुक्तानी भए पनि अझै सयौं किसानका करोडौं रकमको भुक्तानी बाँकी नै छ । उनीहरूले पुनः भुक्तानीका लागि संघर्ष थाल्ने चेतावनी दिएका छन् । ६ वटा किसान संगठनले चिनी मिलहरूले तिर्नुपर्ने उखु किसानका बक्यौता रकम भुक्तानी गर्न सरकारसंग माग गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् । अन्यथा कडा संघर्षमा जाने उनीहरूको चेतावनी छ ।
अघिल्ला सरकारहरूले पनि पटक–पटक बक्यौता रकम उपलब्ध गराउने आश्वासन दिएका तर कार्यान्वयन नगरिएको भन्दै उनीहरूले तत्काल भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले ‘उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा र सरकारका तर्फबाट प्रदान गर्नुपर्ने अनुदान रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्