
डम्मर बुढा मगर
बागलुङ । कोरोना कहरका बीच जिल्लाको ढोरपाटनमा जनै पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष पनि लागेको छ । जिल्ला र जिल्लाबाहिरका विभिन्न स्थानबाट स्थानीयले ढोरपाटन स्थित बराह मन्दिरमा पुगेर पुजाआजा गरेका छन् ।
हरेक वर्ष जनै पूर्णिमाका दिन सैयौं दर्शनार्थी पुजाआजाका लागि जाने गरेको भए पनि यस वर्ष कोरोनाका कारण कम भएको स्थानीय कल्याण कायतले जानकारी दिनुभयो ।
विगतका वर्षमा पूजाआजासँगै स्थानीय क्लबले विभिन्न खेलकुद तथा प्रतियोगिता सहित मेलाको आयोजना गर्ने गरेका उहाँले बताउनुभयो । कोरोना कहरमै पनि सयौं मानिसको भीड लागेको छ ।
जिल्लाका कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले केही समय यता कडा निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाको उल्लङ्घन गर्दै सयौं मानिस ढोरपाटनमा पुगेका छन् ।
मनोकांक्षा पूरा होस् भनि भाकल गरेकाहरुले जनैपूर्णिमामा ढोरबराह मन्दिरमा भेडाको पाठोको बली दिने गर्छन् । यस वर्ष ४ सय ७० जनाले नाम टिपाए पनि ३ सय ७० भेडाको बलि दिइएको स्थानीय अरुण घर्ती मगरले जानकारी दिनुभयो ।
ढोरपाटन पुग्ने यात्रुहरूले बाइसधारामा नुहाउने र पूजा गर्ने गर्छन् भने दिवंगत भएका आफन्तको सम्झनामा विभिन्न सामान उत्तरगंगा नदीमा बगाउँछन् । दिवंगत परिवारको सम्झनामा सामान उत्तरगंगामा बगाउँदा मृत आत्मालाई शान्ति मिल्ने जनविश्वास रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्