
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।
विश्वविद्यालयले भदौमा सञ्चालन गर्ने विभिन्न तहको परीक्षाको तालिका सार्वजनिक गरिसकेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएपछि अब नियमित रूपमा परिक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।
भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने तालिका रहेको छ । त्यसपछि स्नातक तह एक वर्षे बी.एड र वार्षिक परीक्षा प्रणाली अनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदैछ ।
विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले अब नियमित रूपमा परीक्षा सञ्चालन हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्