
काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक सकिएको छ ।
पौडेलपक्षबाट सभापतिका आंकाक्षी रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच एउटै उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बतीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको हो ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको संयोजकत्वमा बसेको बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा आंकाक्षीबीच छलफल भएको बताइएको छ । उक्त बैठकमा सहभागी एक नेताका अनुसार साझा उम्मेदवार चयनका लागि पटक पटक रणनैतिक बैठक बसेर समूहबाट साझा उम्मेदवार बनाउने सहमति भएको छ ।
यो समूहले पार्टीको वडा अधिवेशन शरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी बनाएको छ । कांग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्ने मिति तय गरेको छ ।
वर्तमान सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने बताइसक्नुभएको छ भने उहाँकै समूहबाट वर्तमान उपसभापति बिमलेन्द्र निधिले पनि दावी गर्दै आउनुभएको छ ।
वरिष्ठ नेता पौडेल पक्षमा भने सभापतिका आकांक्षी नै धेरै भएकाले समूहबाट एक जना मात्रै उम्मदेवार बनाउन कठिन भएकाले नेताहरु निरन्तर छलफल छन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत्त, बलबहादुर केसी, जीवन परियारलगायतका नेताहरु सहभागी थिए ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै समाधान नहुँदा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ ।
पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृह बुक गरिएको छ ।
तर, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने जिम्मा पाएको तीन सदस्यीय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्