
संजिव कार्की
राम कुमारी झाँक्री पून चर्चामा छिन् । भनौ भाइरल छिन् । भाइरल बनिरहनु यिनको राजनीति र सक्रियताले निर्धारण गरेको पोजिसन हो ।सामाजिक संजालमा र नेपाली राजनीतिमा । नयाँ पार्टी नेकपा समाजवादी गठन गर्न निर्वाचन आयोगमा जाँदा माधव नेपाललाई हातमा समाएर तान्दै लगेको दृश्य केवल एउटा दृश्य मात्र थिएन त्यो समय र आजको राजनीतिक यथार्थको सुन्दर विम्ब र प्रतीक पनि थियो । राजनीतिमा युवा हस्तक्षेपको उदाहरण पनि । युवाको जोश केवल अनुकुलतामा मात्रै होइन प्रतिकूलताको भरथेग र टेकोको रुपमा पनि लिन र बुझ्न सकिन्छ । राम कुमारीले जुन हिम्मत र साहस राजनीतिमा प्रदर्शन गरेकी छन् त्यसले युवा पुस्तालाई जागृत र पुनार्ताजागी गरेको छ भने आम मान्छेमा आसाको नयाँ रक्त संचार । उमेर ढल्दै गएका नेतामा नेतृत्व हस्तान्तरणका लागि भरोषा योग्य सारथी पाएको अनुभूति भएको हुनुपर्छ । कम्युनिस्ट पार्टी बाहिर र राजनीतिमा नरहेको युवावयले रामकुमारीको राजनीतिक यात्रालाई विस्फारित दृष्टि फ्याँकेको देखिन्छ । भलै नेकपा एमालेका नेताकार्यकर्ताले फूटको आलो घाउको कारण उदण्ड आइमाई, छाडा, अनुशासनहीन, अराजक भन्दै गालीगलौज गर्छन् । राजनीतिमा बिग्रेकी केटीको पदवी भिराउछँन । पार्टी विभाजनकारी राजनीतिक अपराधीको रुपमा पनि चित्रित गर्छन् । सामाजिक संजालमा रामकुमारीको बलत्कार गरिदिने खुलेआम धम्की समेत पढ्न पाइएको छ ।
रास्ट्रपति लक्षित एक भाषणको कारण रामकुमारीलाई चर्चा, प्रशंसा र गालीको सगरमाथा नै छुनु पर्यो । सरकारले रास्ट्रपति विरुद्द गलत अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई माघ २९ गते पक्राउ गरेर पाँच घण्टा हिरासतमा राख्यो तर अभिव्यक्ति दिएकै कारण थुनिनु पर्ने कसुर होइन भन्दै व्यापक बिरोध भयो र देस नै उनको पक्राउमा चलायमान बन्यो । यसबाट थाहा लाग्छ उनी कति लोकप्रिय छन् यद्दपि रामकुमारी कमिकमजोरी भएकी मान्छे हुन् । मान्छे कमि कमजोरी सहित नै चर्चा प्रशंसा र आलोचनामा रहन्छ । तसर्थ रामकुमारी पनि कमजोरी सहित नै राजनीतिमा छन् । उनको लागि असल पक्ष के छ भने कमजोरी सुधार गर्दै राजनीतिको सिंढी चढ़ने, दोष मेटदै र पन्छाउदै जाने,पार्टीको कमाण्ड हातमा लिने र देसको बागडोर सम्हाल्ने समय उनका लागि प्रसस्त छ । प्रतिकुलतालाई चिर्दै अनुकुलतामा बदल्ने संकल्प र अहिले झैँ जोश कायम राखिन् भने राम कुमारीलाई आज उठाएको कदम पार्टी विभाजनको पीडा दोष र प्रताडनाको क्षतिपूर्ति समयले दिनेछ । पश्चातापले जल्नु पर्ने दिन आउने छैन तथापि अहिलेको पार्टी नयाँ बनाउने आँट खुकुरीको धारमा नभएको भने पक्कै होइन । समय बदल्ने र समयलाई आफू अनुकुल परिवर्तन गर्ने काम चानचुने हिम्मतले सक्दैन ।
ओली बिरुद्ध आगो ओकल्ने र पार्टी भित्र ओलीको विपक्षमा हार्डलाइनर भनेर चिनिएका दोश्रो पुस्ताका नेताहरु मैदानमा माधवलाई एक्लै छोडेर विपक्षी मोर्चाको पाउमा पर्ने दुर्नियत राखेको पाएपछि आफ्ना सेनापतिको अघिल्तिर ढाल बनेर उभिने सहासिली नारी हुन् झाँक्री । विर्य, खकार, थुक , रगत र पसिनाको डीएनए टेस्ट गरेर आफ्नो खेमाको प्रमाणित भएपछि मात्र ओलीले पार्टी र सरकारको जिम्वेवारी दिन्छन होइन भने कदापी विश्वास गर्दैनन् भन्ने मार्क्सवादी पुरेत घनश्याम र २०५६ मा नै ओलीलाई भ्रष्ट लेख्ने र देख्ने योगेश ओलीले फालिदिएको सत्ता चास्नीमा झिंगा भएर फसे । ओलीको संधै चर्को आलोचना गर्ने भीम रावल र माधवलाई युद्ध मोर्चामा जान प्राय उक्साउने ८ जना नेकपा एमालेका नेताहरुले माधवलाई छोडेर ओलीको शरण पर्ने हिजोको निर्णयले राम कुमारीको राजनीतिक आड भरोषा माधवका लागि कति महत्वपूर्ण र स्मरणीय छ त्यो समयले हिसाब किताब राख्ला । नेतृत्व फेर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको संकेतको रुपमा पनि राम कुमारीले माधवको हात समाएर घिसार्दै लगेको दृश्यको अर्थ हो । फोटोग्राफरको एक क्लिकमा समयको विम्ब उत्रेको देखिन्छ । सार्वजनिक खपतको लागि मात्र बोल्ने र संकटमा मैदान छोडेर भाग्ने आफू भन्दा अघिल्लो पुस्ताका नेताको चरित्र अवसरवादिता राम कुमारीसंग किमार्थ तुलनायोग्य हुन्न ।जोखिम मोल्ने र बहन गर्न नसक्ने नेता हुन सक्दैनन् । राम कुमारीले बहन गरेको जोखिमको राजनीतिक मुल्यको नाफा घाटा उनले नै पाउने र गुमाउने हो । अबका दिनमा राम कुमारीको स्प्रिटमा कमि आएन भने यति भन्दा पाप लाग्दैन राम कुमारी आजको पुस्ताकी सम्भावना भएकी एक विश्वासिली पात्र हुन् ।
तथापि हाम्रा विश्वास र आस्थालाई खण्डित गर्ने थुप्रै राजनीतिक पात्र र प्रवृति छन् , कामना गरौ उनी अछुतो बनून यस मामिलामा । उसो त राम कुमारी बिभाजन प्रेमी नेता हुन्,या विद्रोह रुचाउने व्यक्ति २०५४ मा नेकपा एमाले बिभाजन हुँदा पनि यिनी विभाजनको पक्षमा मालेको विद्यार्थी संगठनमा सक्रिय बनेकी हुन् । चार वर्ष विभाजित पार्टी मालेको कार्यकर्ता बनेर २०५८ सालमा बामदेवसंगै यिनले पनि एमालेसँग पुनर्मिलन रोजेकी हुन् । २०५४ मा एमाले बिभाजन बनेर माले बन्दा झाँक्री २० वर्षकी अल्लारे थिइन् र राजनीतिलाई फराकिलो आयाममा बुझ्न सक्ने भै सकेकी थिइनन् शायद उनी ४४ वर्षको अधबैंसे उमेरमा हिडदै गर्दा उनको जिन्दगीले बनाउने, नाप्ने तौलने, लम्बाई चौडाई र गहिराईको आयतन अरु फराकिलो बनेको छ । रास्ट्रिय राजनीति, राजनीतिक ब्यबस्था र संसद पार्टी र वैचारिकी बारेमा राम कुमारी गहन अध्ययन छलफल बहस र धारणा बनाउन सक्छिन, बनाउदै आएकी छन् । रास्ट्रिय दृष्टिकोण बारे जमेर बौद्धिक पहलमानी गर्न खप्पिस छन् । २०६२/०६३ को समयमा विद्यार्थी राजनीतिमा रहेर आन्दोलन हाँक्न र सडक प्रदर्शनमा उग्रता प्रदर्शन गर्दै निस्कन थालिन् । उनलाई प्रहरीको लाठीचार्ज भयो र उनी घाइते बनिन रक्ताम्य भएर हिंडेको फोटो क्लिक भयो जुन फोटो संयुक्त जनान्दोलनलाई ऊर्जा दिने पोस्टर बनेर सहरका गल्लि, गल्ली सडक र भित्तामा टाँसीयो, पत्र पत्रिकाको आकर्षण बन्यो तब रामकुमारीको चर्चा देशभर चुलियो । जन आन्दोलनमा हजारौं घाइते भए, कति अंगभंग भए, डेड दर्जन मानिसको मृत्यु पनि भयो तर संयोगले चर्चा एक घाइते राम कुमारीको भयो जुन उनलाई जन आन्दोलनले थपिदिएको अर्को महत्वपूर्ण बायोडाटा हाे । यो बायोडाटा घरमा बसेर रमिता हेर्दा प्रहरीको ढुंगालागेर घाइते बनेर भएको होइन ज्यानको बाजी थापेर सडकमा प्रदर्शन गर्दै नेतृत्व गरेको कारण भएको हो । त्याग र समर्पणले बनेको बायोडाटा हो ।
आम राजनीतिक युवालाई उनको बायो आकर्षक र लोभलाग्दो लाग्छ नै । रामकुमारी झाँक्री आफैमा आकर्षक नाम भएकी व्यक्ति हुन् । झाँक्री थर सुन्दा टुनामुना,जोखाना, झारफूकलाई अन्धविश्वास र कुरीति मान्ने जस्तो लाग्छ तर द्वन्दात्मक भौतिकवादी दर्शनमा आस्था र विश्वास भएकी मार्क्सवादी पात्र तर उनको नामको पछाडिको थर चै झाँक्री छ जो एक मगर जातिको थर हो । गुल्मीको मगरकी छोरी राम कुमारी राजनीतिमा बौद्दिक हस्तक्षेप गर्ने पात्रको रुपमा चिनिन्छिन ।अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बनेर इतिहाँस रचेकी झाक्री आफ्नै बुता र खुबीले २०७१ मा भएको एमालेको नवौ अधिवेशनमा नेकपा एमालेको केन्द्रिय सदस्यमा लोकप्रिय मतका साथ निर्वाचित बनेकी हुन् । २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेकी झाक्रीलाई प्रत्यक्ष चुनाव उठ्न हिम्मत नगरेको कोटामा परेर फुर्ति झार्ने नेताको रुपमा पनि आलोचना गरिएको पाइन्छ । संसद र पार्टीका बिभिन्न फोरममा सरकार र ओलीको आलोचना गर्दा मन्त्री बन्ने बार्गेनिङ भनेर पनि यिनको आलोचना भएको थियो । तर राम कुमारीले मन्त्री बन्न कै लागि मात्र बिरोध गरेको भए यिनलाई त्यो अवसर दिएर ओलीले चुप राख्न सक्थे तर आलोचक बनेपछि ओलीलाई रामकुमारीले कहिल्यै एक्लै भेट गरेको र अनायासै नरम भएको देखिएको छैन । प्राय ओलीलाई एक्लै भेटन जानेहरु ओलीको टुनामुनामा लट्ठिएका हुन्छन् भन्ने एमालेका कार्यकर्ताको भनाइ छ ,तसर्थ पनि राम कुमारी चुकेकी छन् भन्ने आधार छैन ।
संसदमा राम कुमारीको उपस्थिति र प्रस्तुति सानदार र बिधि पद्दतिको पक्षमा देखिन्छ । राम कुमारी त्यस्ती पात्र हुन् जसले आफ्नो पार्टीले गणतन्त्रमा जाने निर्णय नगर्दै सडकमा गणतन्त्रको माग गर्दै बहस चलाएर सडक संघर्सको आकर्षक नारा गणतन्त्र स्थापना र राजतन्त्र विस्थापनको नारा रोजिन र भट्टयाइन जुन सामान्य हिम्मतको कुरा थिएन । झाँक्री जब्बर बिद्रोही नारी हुन । ओलीको एकाधिकारवादी सोच र शैलीका विरुद्द नेकपा एमालेको केन्द्रिय कमिटीमा ओलीबिरुद्द जेहाद छोडेर बिरोध गर्थिन् । नेकपाका आशा लाग्दा भनिएका धेरै नेता ओलीको बिरुद्दमा लाग्ने र अन्तिममा बिरोधलाई पद प्राप्तीको माध्यम बनाउनेको भिडमा यिनले धानेको सत मन्त्री या कुनै अवसरको लोभ थिएन भन्न सकिन्छ । संसदमा यिनले जुन कुरा बोलिन र संसद्को ध्यान आकर्षण गराइन् त्यो उनको पार्टीको पृष्टपोषण थिएन पद्दति प्रणाली र व्यवस्थाको लागि थियो, विधिको लागि गरिएको पैरवी हो । राज्यका मूल अंगहरुको शक्ति सन्तुलन नियन्त्रण र सरकारलाई नीति सम्मत बनाउन राम कुमारीले गरेको वकालत प्रशंनीय छ । संसदमा पार्टी यदाकदा तर समग्रमा बिधि र पद्दति यिनको धेय देखियो फलस्वरूप आफ्नै पार्टीका नेता बिरुद्द मत जाहेर गरेर विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरिन् । झट्ट हेर्दा र सुन्दा पार्टी बिरुद्दको काम अनुशासनको उलंघन जस्तो देखिए पनि यो प्रणाली ध्वस्त पार्ने एकाधिकारवादी सोच र शैलीलाई हानेको झापड हो , म नै राज्य हुँ भन्ने प्रवृति विरुद्दको विप्लव हो भन्छन राजनीतिशास्त्रका ज्ञाताहरु । यस्ता घटना र परिघटना समयको बाध्यता र आकस्मिक आवश्यकताले निर्धारण गर्छ ।भुँडी फोर्नु आफैमा राम्रो सुनिन्न र होइन तर आन्द्रा भुँडी कुहिए पछि त्यसको इलाज गर्न भुँडी चिर्नु (फोर्नु ) बाध्यता हो । माधव र राम कुमारीहरु त्यस्तै बाध्यताको रुपमा ओली बिरुद्द संसदमा विपक्षीसँगको गठ जोड र पार्टी बिभाजनको तह सम्म पुगे । कटु सत्य र तीतो यथार्थ नचाहेर भोग्नु पर्ने र पचाउनु पर्ने रामकुमारीहरुको विचार छ ।
अवसरवाद र पद लोलुपताको बर्को नओढेकी राम कुमारी हक्की र बोलीमा दृढ मान्छे हुन् ।अडानमा न चिप्लने बरु कर्कश नै रहने र बोल्ने रामकुमारीको स्वभाव रहेको देखिन्छ । कस्ता कस्ता मै हुँ भन्नेले बाटो बिराएर हिंडदा पनि रामकुमारी कठोर निर्णय गरेर काँढाले कोतार्ने, हिउँ असिनाले पिटने, दलदलमा भासिने र अनिश्चित गोरेटो हिंडेर मन्जिल भेटने प्रयासमा छन् ।माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी बैधानिक रुपमा दर्ता हुँदैछ । नेकपा समाजवादीको महासचिव को बन्ला धेरैमा जिज्ञासा र कौतहुल छ । सम्भावित महासचिवको रुपमा राम कुमारीको पनि नाम सुनिन्छ । आफूलाई अन्तिम अवसर सम्म साथ दिने यी नेतृलाई माधव कुमार नेपालले विश्वास गर्ने र नेतृत्वमा स्थापित गर्ने आँट गर्लान त ? हुन त माधव नेपाललाई पनि ठूलो छाती भएको नेता भनिदैन तर संकटकि सारथी रामकुमारीलई नेतृत्वमा स्थापित गरेर आफूलाई संकीर्ण छातीकोको दोष नेपालले मेटाउँछन कि ? अखिलका क्रान्तिकारी विद्यार्थीको ऊर्जा अरु तिखार्ने र भविष्यप्रति आशावादी बनाई दिन्छन कि ? एक महिला जनजाती र अखिलको पृष्टभूमिको नेता अनि युवा । राम कुमारीलाई मूल नेतृत्वमा राख्दा या पार्टीको तर्फबाट सरकारमा पठाउँदा माधव नेपालले दिने चार संदेश एकैपटक प्रवाहित हुने सम्भावना नकार्न सकिन्न ।
संसदमा सार्वजनिक खर्च कटौतीको प्रस्ताव, फजुल खर्चको रोक होस् या शिक्षा र स्वास्थ्य राज्यको दायित्वमा राख्ने लगायत जल्दाबल्दा विषयमा राम कुमारीको अडान र विचार योग्य संसद्को योग्य प्रस्तावको रुपमा दर्ज हुनेछ । राम कुमारी सामान्य परिवार र समाजबाट हुर्केकी समाज पाठशालाकी उत्पादन, यही समाजकी चित्र र चरित्र पनि हुन् । मार्क्सवादी ‘स्कुल अफ थट’कि उत्पादन भए पनि यही समाज र परिवेशको नेपालको हावा पानी र माटोमा अंकुरित मार्क्सवादी स्कुल हो । तसर्थ यिनका पनि कमि कमजोरी सिमा र बाध्यताहरू छन् केही आग्रह र पूर्वाग्रह ग्रुमिंग हुदै गर्दा थाहा नपाएर पनि विकास भएका छन् यिनका लागि गरिएका आलोचना र सुनिएका लान्छना समेत राख्न सकियो भने मान्छेको सबलता र निर्वलाताको पक्ष उदघाटित हुन्छ । मेरो बुझाई मेरो बिश्लेष्ण र सीमाको आधारमा उनको जीवन सिक्काको अर्को पाटो उनलाई लाग्ने गरेका आरोप पनि उल्लेख गर्नु उचित ठानेको छु । व्यक्तिलाई देवत्वकरण गरेर होइन कमजोरी सुनाइदिंदै मान्छे बन्ने र सुध्रने मौका दिनु वान्छनीय हुनेछ । युवा संघको विवादमा एउटा खेमालाई बोकेर अर्को खेमालाई पेलेको देखि अखिल अध्यक्ष हुँदा आन्तरिक प्रतिस्पर्धामा रहनेलाई ओलीकै शैलीमा डिलमा पुग्ने गरि हुत्याएको आक्षेप छ । आफ्नो घर काठमाडौंमा भएर पनि संसदबाट घर भाडा लिएको र संसद सुबिधाको स्वकीय सचिवमा आफ्नै भदैको नाम राखेर सुबिधा भोग गरेको लान्छना लागेको छ । त्यस्तै कांग्रेस कार्यकर्तालाई गत चुनावमा फोन बाट तुच्छ शैलीमा धम्काएर गुण्डा लगाएर खुट्टा भाँचीदिने धम्की भाइरल बनेको अडियो हो ।
एउटा मान्छेको रुपमा यिनका कमजोरी छन् देखियो भनियो कति लान्छना मात्रै पनि होलान ? प्रतिशोध राख्न लगाइएको आक्षेप पनि होला त्यसको खण्डन पनि आउला । कमजोरी सुधार्दै गलत आरोपलाई प्रतिवाद गर्दै अघि बढ्ने हो भने राम कुमारीलाई अयोग्य मान्न सकिन्न औसत नेता भन्दा पृथक छ क्षमता पनि । क्लब हाउसमा दलित समुदाय बारे सचेतता पूर्वक बोल्न नजानेको कारण दलित समुदायको चित्त दुखेको कुरामा राम कुमारी चनाखो हुनु जरुरी छ ।
आलोचना र समर्थन त राम कुमारीको चर्को मेकअपको गर्ने पनि छन् ।कसैलाई राम कुमारीको ओठको लिपिस्टिक चर्को लाग्छ भने कोही कोहीलाई आकर्षक पनि । रामकुमारीको टिकटकको फ्यान देखि नेता भएर कस्तो उत्ताउलो हुनु परेको भनेर गुनासो गर्ने सम्म थरि थरिका मान्छे भेटिन्छन् । नेताको पनि निजी जिन्दगी इच्छा रहर र सौख हुनाले उनको नितान्त व्यक्तिगत कुरालाई लिएर धेरै बहकिनु व्यर्थ छ
।
प्रतिक्रिया दिनुहोस्