
काठमाडौं । संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनीतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनीतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकाले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो ।
दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिय योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वले मुलुकलाई विकासको गतिमा लैजाने सवालमा अकल्पनीय काम गर्न सक्ने भएकाले दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा पनि सशक्त राजनीतिक संयन्त्र र प्रतिवद्धताको खाँचो रहेको बताउनुभयो ।
समाज परिर्वतन गर्न सक्ने राजनितिक शक्तिलाई दिगो विकास लक्ष्य हासिल गर्ने सन्र्दभमा पनि शक्तिको रुपमा पनि प्रयोग गर्नुपर्ने आवश्यकता रहेको डा. पौडेलको भनाइ छ ।
बैठकमा राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाका सदस्यहरूले दिगो विकास लक्ष्य हासिल गर्ने सन्र्दभमा सदस्यहरूले खेल्ने भूमिकालाई छलफलको विषय बनाउनुपर्ने बताउनुभयो । उहाँले दिगो विकासका निम्ति राजनीतिक नेतृत्वको भूमिका धेरै महत्वपूर्ण उल्लेख गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले संघ, प्रदेश र स्थानीय तहको योजना आयोगको योजना बनाउँदाको समन्वय गर्दा संयोजनकारी भूमिका विकास गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
बैठकमा सदस्यहरूले नीति निर्माण गर्ने क्षेत्रमा महिलाहरूको राजनीतिक रुपमा विकास हुन नसकेको तर्फ ध्यानाकर्षण गराएका थिए । उनीहरूले विद्यमान वहुप्रकृतिका असमानताका कारण महिलाले चाहेर पनि विकासको लक्ष्यमा योगदान पुर्याउन नसकेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्