१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चाडपर्वमा खाद्यवस्तुमा छुट दिन ३ करोड विनियोजन

खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले नगद पाउने

0
Shares

काठमाडौं । सरकारले चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत प्रदान गर्नका लागि ३ करोड रुपैयाँ छुट्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल सहुलियत दिने उद्देश्यले यस वर्षको चाडपर्वका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्टाइएको हो ।

सरकारले दशैं, तिहार र छठ चाडपर्वमा सर्वसाधारणलाई सहुलियत प्रदान गर्दै आएको छ । सोही अनुसार यो वर्ष पनि दशैं, तिहारमा सहुलियत प्रदान गर्नका लागि रकम छुट्टाइएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो । केसीले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लागि १ करोड ७५ लाख र साल्ट ट्रेडिङ कर्पोरेशनका लागि १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको बताउनुभयो ।

गत वर्ष चाडपर्वमा दिने छुटका लागि ३ करोड २५ लाख रुपैयाँ खाद्य र कर्पोरेशनलाई वितरण गरेको थियो । यो वर्ष पनि गत वर्षको जति नै रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ । सरकारले चाडपर्वमा देशका विभिन्न बिक्री कक्षबाट उपभोक्तालाई बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गर्ने गर्दछ । त्यसमा अत्यावश्यक चिनी, नुन, घिउ, चामल, दाल, तेल, खसीबोका, च्याङ्ग्रामा विशेष छुट दिने गर्दछ ।

गत वर्ष सरकारले विभिन्न जिल्लामा सञ्चालन रहेको बिक्री कक्षबाट चिनी, चामल, नुनलगायतका खाद्य वस्तुमा प्रतिकेजी २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिएको थियो । त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकेजी ५० रुपैयाँसम्म छुट दिएको थियो । यो वर्ष पनि उपभोक्तालाई सहुलियत प्रदान गरी केही सहज हुन मन्त्रालयले जनाएको छ ।