
काठमाडौं । बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी गम्भीर घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ वर्षीया गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् ।
सोमबार बिहान गौरा पर्वका लागि लुगाकपडा र श्रृंगारका सामान किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले बताउनुभयो ।
आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य किशोरीसँग खोड्पे पुगेकी गोदावरी बुवाभन्दा केही ढिलो घर फर्किँदा हरिशले आफैं लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बहिनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ । तर, उसले विजयपुर सम्म पुर्याइदिन्छु भनेछ । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेछ ।’
गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लग्ने प्रयास पछि गोदावरीले हामफालेको पारिवारका सदस्यले जनाएको छन् ।
घाइते गोदावरीको अहिले धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको दाजु जनकले बताउनुभयो । पीडित परिवारले घटनाको छानविनका लागि खोड्पे प्रहरी चौकीमा निवेदन दिएका छन् । आफ्नो बहिनीले न्याय पाउनुपर्ने दाजु जनकको माग छ ।
प्रहरीले चालक हरिश र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अहिलेसम्म मोटरसाइकलबाट हाम फालेर एकजना किशोरी घाइते भएको भन्ने जानकारी मात्रै आएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ओझाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्