
बिराज रोस्यारा
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका कैयौं सडक हिलाम्य र खाल्डाखुल्डी हुँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ । हिलाम्मे सडक हुँदा आवागमनमै समस्या हुन थालेको छ । सडकको नाममा करोडौ रुपैया विनियोजन हुने तर सडकको सास्तीले नगरवासी दिक्क भएका छन् ।
उपमहानगरले ग्राभेलिङ र खाल्डाखुल्डी पुर्ने नाममा वार्षिक करोडौ रुपैयाँ बजेट खर्च गर्ने गरेको छ । तर, सडकको हालत भने बर्षेनी उस्तै छ । बर्खाको समयमा धनगढीको मुख्य बजार मार्गसहित प्रमुख आवासीय क्षेत्र हसनपुर, तारानगर, उत्तरबेहडी, बैयाबेहडीभित्रका दर्जनौं भित्री सडक यसरी पिच फुटेर खाल्डाखुल्डी परेका छन ।
ती सडकमा आउजाउको समस्या र दुर्घटना बढ्ने गरेको बजारबासीको गुनासो छ । न्यून गुणस्तरमा निर्माण गरेका भित्री सडक एक बर्ष पनि टिक्दैनन् । पिच फुटेर सडकमा ठूल्ठूला खाल्डाखुल्डीले आउजाउ मात्रै नभएर दुर्घटनासमेत बढाएको छ । नगरपालिका र वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिले भने यिनै खाल्डाखुल्डी पुरेको नाममा बिल बनाएर ठूलो रकम कुम्ल्याउने गरेको स्थानीय पदमा पाण्डेको आरोप छ ।
अढाई किलोमिटर सडकमा एक सय ठाउँमा ठूल्ठूला खाल्डाखुल्डी छन् र खाल्डाखुल्डीले यो सडक खण्डमा दिनहुँजसो दुर्घटना निम्त्याउने गरेको अटो चालकहरुको गुनासो छ । चटकपुर सहिदगेट देखी क्याम्पससम्मकोे सडक वडा नम्बर ४ र ५ मा पर्ने उत्तरबेहडी, तारानगर, हसनपुरको बाहिरीपट्टि पर्ने अति चल्तीको सडक पनि हो । अत्तरिया र धनगढी ६ लेनबाट बजार प्रवेश नगरी आवासीय क्षेत्रमा जाने मुख्य सडक भएकोले मानिसको चाप निकै बढी हुने गरेको स्थानीय जनक चौधरीको भनाई छ ।
धनगढी उपमहानगरपालिकाले भने हिलाम्य र खाल्डाखुल्डी भएको सडक पुर्नमा वार्षिक १ करोड रुपैयाँ खर्च हुने गरेको जनाएको छ । आफ्नै ट्रिपरमा ग्राभेल ल्याएर खाल्डाखुल्डी पुरिरहेको उपमहानगरपालिकाको भनाई छ । खोलानालाबाट गिट्टीबालुवा झिक्न बन्द भएकाले धेरै ठाउँका खाल्डाखुल्डी पुर्न नसकिएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको भनाई छ ।
बर्षातमा ग्राभेल गर्दै करोडौँ रुपैया खर्च गर्ने उपमहानगरले बनाएको पिच बाटो समेत गुणस्तरहिन भएको पाइएको छ । २ महिनाअघि पिच गरेका सडकहरु बर्षात लाग्दा भत्किन थालेका छन् । त्यसैले बिकासका नाममा धनगढी उप महानगरले लिएको स्मार्ट सिटि नारालाईनै लज्याइरहेको भान गराउँछ ।
प्रतिक्रिया दिनुहोस्