१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संविधानमाथि राजनीति नगर्न दुई पूर्वप्रधानन्यायाधीशको आग्रह


0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरूलाई सचेत गराएका छन् ।

पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए ।

नेपाल कानुन समाजले काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरूलाई आग्रह गर्नुभयो । उहाँले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाउनुभयो ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालोको नमूना जस्तो भएको बताउनुभयो । उहाँले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमूना जस्तो राजनीति दलहरूले गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अहिलेको राजनीतिमा सबै मै हुँ भन्ने अहंकार र आफ्नो दलको नेताहरूलाई समेत मिलाउन नसकेर दलमा विवाद बढेको उहाँको टिप्पणी छ ।

कार्यक्रममा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दावी गर्दै सांसदहरूले धारा ७६(५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको बताउनुभयो ।

नेकपा (एमाले)का नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संविधानको नेतृत्व गर्ने दलहरू नै संविधान कमजोर पार्न लागि परेको बताउनुभयो ।