
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सांसद किनबेचमा लागेको आक्षेप लगाउनुभएको छ ।
नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नाे सरकारले गरेका कामकाे प्रशंसा र नेता नेपाल र सभामुख अग्निप्रसाद सापकोटाको कटाक्षमै बिताउनुभयो । समग्रमा भन्दा बुधबारकाे पत्रकार सम्मेलन आत्मप्रशंसा र आलोचनाले लबालब भयाे ।
दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्नुभएका अध्यक्ष ओलीले आफ्ना सदस्य संख्याअनुसार कानुनमा परिवर्तन गर्न नेता नेपाललाई व्यङ्ग्यात्मक सुझाव समेत दिनुभयो ।
राति संसद अधिवेशन अन्त्य गरेर बिहानै अध्यादेश ल्याउँदा विधि विधानको पालना नगरिएको ओलीको टिप्पणी छ । आफूले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा धेरै फरक रहेको उहाँको दावी छ ।
माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने भनेर कानुनी व्यवस्था मिलाउन व्यङ्ग्यात्मक सुझाव दिँदै ओलीले रिसोर्टमा लगेर सांसद किनबेच गरेको आरोपसमेत नेपालमाथि लगाउनुभयो ।
आफूले विघटन गरेको समयदेखि अहिलेसम्म प्रतिनिधिसभाले कुनै काम गर्न नसकेको ओलीको दावी छ । गत मंसिर महिनायता करिब नौ महिना संसदले माखो मार्न नसकेको उहाँको टिप्पणी छ ।
नेता नेपालसँगै समाभुख अग्नि सापकोटासँग आक्रोशित देखिनुभएका अध्यक्ष ओलीले दल विभाजनको षडयन्त्रमा १४ सांसदलाई कारबाही गरेको पत्र सभामुखले विचाराधिन राखेकोमा आक्रोश पोख्नुभयो ।
निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने बताउँदै ओलीले कारबाहीमा परेका नेताहरूलाई सनाखतका लागि सिफारिस गर्न नमिल्ने जिकिर गर्नुभयो ।
सरकारको कामले गति लिनै नसक्ने ओलीको दाबी छ । पुनःनिर्माण लगायतका काम ठप्प भएको र आफ्नो सरकारले आगामी माघको दोस्रो हप्ता मेलम्चीको पानी काठमाडौं ल्याउने योजना गरेको भए पनि वर्तमान सरकारले गर्न नसक्ने उहाँको ठहर छ ।
एमालेले पार्टीमा फर्किएकालाई ०७५ जेठ दुई गते अघिकै जिम्मेवारी यथावतमा फर्काउने निर्णय गरेको छ । त्यस्तै विधान महाधिवेशन असोज पहिलो हप्ता गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्