
प्रदीप पौडेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्का ११ सदस्यमध्ये ९ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति सार्वजनिक भएको छैन ।
कृष्णचन्द्र नेपाली पोखरेल
सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री पोखरेलसँग ५ तोला सुन छ । मुख्यमन्त्री पोखरेलकी श्रीमती लता पोखरेलको नाममा चितवनको गैंडाकोटमा २० लाख रुपैयाँको घर छ । उहाँको काठमाडौं र तनहुँमा जग्गा छ । ती जग्गा किन्दा बैंकको कर्जाबाट किनेको मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा छ । तलब बापतको ५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेमा मौज्दात छ । उहाँले २५ लाख रुपैयाँ ऋण लिनुभएको छ । २०७६ मा कृषि विकास बैंकबाट ऋण लिएको मुख्यमन्त्रीले देखाउनुभएको छ ।
रामजीप्रसाद बराल
अर्थमन्त्री रामजीप्रसाद बरालले आफूसँग ४ तोला सुन रहेको खुलाउनुभएको छ । उहाँको एभरेस्ट बैंकमा ३ लाख नगद मौज्दात रहेको छ । उहाँको छोरा र बुहारीले २ मोटरसाइकल र १ स्कुटर खरिद गरेका छन् । ६० हजारको गाई र ६० कित्ता निफ्राको सेयर रहेको उल्लेख छ । श्रीमती बुद्धिमाया बराल र उहाँको नाममा कास्कीका २ ठाउँमा जग्गा छ । मन्त्री बरालले हालै १ करोड रुपैयाँको ऋण लिएको देखाउनुभएको छ । २०७७ मा उहाँले एनआईसी एसिया बैंक लिमिटेडबाट १ करोडको ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
कुमार खड्का
भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले स्वआर्जन र पैतृक सम्पत्तिबाट पोखरा १६ मा ३ सय ८२ वर्गमिटरमा फैलिएको घर जोडेको खुलाएका छन् । खड्कासँग १ करोडभन्दा बढी नगद मौज्दात, ५६ लाखको सेयर, ९५ तोला सुन छ । खड्काले ८५ लाख ऋण दिनुभएको छ ।
विन्दुकुमार थापा
कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफ्नो नाममा पोखराका ६ ठाउँमा घर र ८ ठाउँमा जग्गा देखाएका छन् । उहाँसँग १० करोड नगद मौज्दात, ५५ हजार रुपैयाँ घरमा रहेको, ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा छ । परिवारभर ७ लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ । मन्त्री थापासँग २ गाडी छ भने होटल, ट्रेड हाउस, मल, रिसोर्टमा लगानी छ ।
मणिभद्र शर्मा
पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलकी श्रीमती इन्द्रकली कँडेलको नाममा बागलुङमा ४८ लाख ५० हजारमा खरिद गरेको घर छ । उहाँकी श्रीमती र उहाँको नाममा लेखानी, चितवन, रुपन्देहीमा जग्गा छ । ऋणबाट जग्गा किनेको र केही सम्पत्ति बिक्रीबाट आर्जेको उहाँको सम्पत्ति विवरणमा देखाइएको छ ।
उहाँले बागलुङ नरेठाँटीमा ८ लाख ४० हजार, चितवनको कुमरोजमा ३६ लाख, रुपन्देहीको पडसरीमा ५७ लाख ३५ हजार र चितवनको कुमरोजमै २७ लाख ३५ हजार रुपैयाँ ऋण लिएर जग्गा किनेको देखाएका छन् । उहाँसँग २५ तोला सुन र १ किलो चाँदी छ । उहाँले आफूसँग ८७ हजार कित्ता सेयर देखाएका छन् । सम्पत्ति विवरण अनुसार उहाँ २ करोड ६७ लाख रुपैयाँ ऋणमा छन् ।
मेखलाल श्रेष्ठ
शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसँग १५ लाख नगद छ । उहाँको नाममा स्याङ्जाको भिरकोट र काठमाडौं नागार्जुनमा पक्की घर छ । उहाँसँग १९ तोला सुन, २ तोला चाँदी र १ थान हिराको औँठी छ । उहाँको काठमाडौं र स्याङ्जाको ६ ठाउँमा जग्गा छ । शिक्षामन्त्री श्रेष्ठको ८ कम्पनीमा सेयर छ भने ती सेयर प्राप्तिको स्रोत भने उल्लेख गर्नुभएको छैन । उहाँले सिटिजन्स बैंकबाट ७ करोड ९० लाख रुपैयाँ ऋण लिनुभएको छ । उहाँको नाममा ४५ लाख रुपैयाँमा किनेको एउटा कार र श्रीमतीको नाममा किनेको २ स्कुटर छन् ।
दीपक थापा मगर
माओवादीबाट वनमन्त्री बनेका दीपक थापा मगरको नाममा विरुवा गाउँपालिका २, स्याङ्जामा ५० हजार रुपैयाँमा किनेको घर छ । उहाँले पोखरा महानगरपालिका १४ मा ४० लाखको जग्गा किनेका छन् । यसको स्रोत तलबभत्ता, छोराको व्यवसाय र रेमिट्यान्स भएको जनाइएको छ । मन्त्री थापाको सम्पत्ति विवरण अनुसार उहाँसँग ३० तोला सुन र २० तोला चाँदी छ । उहाँले ६१ लाख ५० हजार ऋणमा रहेको पनि देखाएका छन् ।
हरिशरण आचार्य
जनता समाजवादीका सांसद तथा ऊर्जामन्त्री हरिशरण आचार्यसँग ८ तोला सुन र ५ तोला चाँदी छ । उहाँका बुबा र श्रीमतीको नाममा गोरखामा घरजग्गा छ । उहाँले ५० लाख ऋण बंैंकबाट लिएर २० लाखमा आमुल फर्निचर उद्योग चलाएका छन् । लिएको ऋणमध्ये १० लाख तिरिसकेको उल्लेख मन्त्री आचार्यले गरेका छन् ।
प्रदीप पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङ दूधपोखरीमा घर छ । लमजुङमा घरसहित जग्गा, चितवनको कविलास र मकवानपुरमा जग्गा रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँसँग ३ तोला सुन र ३ बैंकमा ८ लाख ६० हजार नगद मौज्दात छ ।
प्रतिक्रिया दिनुहोस्