१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ पार्टीसँगै नेपालसमक्ष चुनौतीका चाङ, एमाले एकताको औचित्य समाप्त


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । अन्तत, माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको निर्वाचन आयोगमा सनाखत भएसँगै नेपाल पक्षलाई गठबन्धन सरकारमा सहभागी हुने बाटो खुलेको छ । तर, एमाले संस्थापन पक्षसँग विद्रोह गरी अघि बढेको नेपाल पक्षका लागि अबको बाटो त्यति सहज छैन ।

ललितपुरबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालमाथि खनिइरहँदा नेपाल पक्षका नेताहरू पर्यटकीय बसबाट निर्वाचन आयोग पुगेर हस्ताक्षर सनाखत गर्दै थिए । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यको निर्वाचन आयोगमा सनाखत भएसँगै एमालेभित्र एकताको औचित्य समाप्त भएको छ ।

ओली नेतृत्वको एमालेभन्दा शक्तिशाली पार्टी बनाउने दावी गरे पनि नेपालका लागि त्यो बाटो सहज छैन । विगतमा ओलीविरुद्ध मोर्चाबन्दीमा देखिएका नेताहरू नै ओलीसँग काँधमा काँध मिलाएपछि ओलीसँग जुध्न नेपाललाई सकस पर्ने देखिन्छ । मूल पार्टीमा रहेका नेताहरू नेता नेपाल एमालेमै फर्कने दावी गर्छन् ।

प्रतिशोधको राजनीतिबाट गुज्रिएका नेता नेपाल पनि बृहत कम्युनिष्ट एकतालाई मलजल गर्ने योजनामा देखिन्छन् । ओलीबाहेकका कम्युनिष्ट शक्तिहरूसँग एकता गरी आमचुनावमा एमालेभन्दा शक्तिशाली बन्ने गृहकार्य सुरु भएको नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी बताउनुहुन्छ ।

नयाँ दलसँगै गठबन्धन सरकारबाट आफ्नो सांगठानिक संरचनाका स्तम्भलाई बलियो बनाउने उद्देश्य नेपाल नेतृत्व दलको छ । पार्टीबाट पाएको क्षतिपूर्ति सत्ताले नदिने प्रष्ट छ । न त प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहयात्राले गुमेको साख फर्किन सक्छ । त्यसैले फुकी–फुकी पाइला चाल्नु माधव नेपालका लागि श्रेयष्कर छ ।