
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने काम सम्पन्न भएको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै निर्वाचन नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूको सनाखत सकिएसँगै आयोग सचिवालय सनाखतको विवरणसहित आयोग सचिवालय प्रतिवेदन तयारी गरिरहेको जानकारी दिनुभयो । प्रतिवेदन तयार भइसकेपछि दुवै दल दर्ताको सम्बन्धमा निर्णय हुने उहाँले बताउनुभयो ।
सनाखतमा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदमध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेको आयोगले जनाएको छ । यस्तै झलनाथ खनालले भने नेपाली राजदुतावास नयाँ दिल्लीमा सनाखत गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्य १६ जना र संघीय संसद सदस्य १४ जनाले हस्ताक्षर सनाखत गरेका छन् । सनाखतको विवरण सहित आयोग सचिवालयले प्रतिवेदन तयार गरेर आयोगमा पेश गर्ने काम भइरहेकाले अहिले कुनै निर्णय भइनसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्