
काठमाडौं । गत वर्ष नेपालको अर्थतन्त्रका सूचक समष्टिगत रूपमा सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७७/०७८ कोे १२ महिनाको आर्थिक स्थितिमा अधिकांश सूचकहरू सन्तोषजनक देखिएको हो ।
कोभिड महामारीका बावजुद यस अवधिसम्म मुलुकको अर्थतन्त्र सन्तोषजनक भएको पाइएको हो । यो वर्ष मूल्य वृद्धिदर २ दशक यताकै सबैभन्दा न्यून लक्ष्यभन्दा आधा कम ३ दशमलब ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष मूल्य वृद्धि ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको थियो ।
अघिल्लो आर्थिक वर्ष ६.१५ प्रतिशत रहेको मुद्रास्फ्रीति २०७८ असारमा ४.१९ प्रतिशत रहेको पाइयो । २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो । यस्तै यस अवधिमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
गत वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै गत वर्ष नेपालको आयात २८ प्रतिशतले र निर्यात ४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ प्रतिशतले घटेको थियो भने निर्यात ०.६ प्रतिशतले बढेको थियो । गत बर्ष बैंक वित्तीय संस्थाको निक्षेप तथा कर्जा परिचालनमा पनि उल्लेख्य प्रगति भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत वर्ष निक्षेप संकलन २१ प्रतिशतले र कर्जा २७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक बर्ष निक्षेप संकलन १८ प्रतिशत र कर्जा परिचालन १२ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्