१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निधिद्वारा सम्पर्क कार्यालय स्थापना, पार्टीलाई बहुमत दिलाउन नेतृत्व लिन खोजेको प्रष्टोक्ति


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।

पार्टी सभापतिको दौडमा रहेका निधिले बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा आफ्नो दललाई बहुमत प्राप्त गराउन आफूले पार्टीको नेतृत्व लिन खोजेको बताउनुभयो ।

आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्न सभापतिको उम्मेदवार बन्न नखोजेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट्याउनुभयो ।

आफूहरू संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उहाँले १४ औं महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताउनुभयो ।

निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा पनि राख्नुभयो ।

नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रूपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।