
दीपक श्रेष्ठ
काठमाडौं । यातायात व्यवस्था विभागले गत २०७८ साल वैशाखमा जारी गरेको निर्देशिका विवादमा परेपछि सवारी लाइसेन्स परीक्षाको नयाँ आवेदन तत्काल नखुल्ने भएको छ ।
कोभिडका कारण धेरै समय बन्द रहेको लाइसेन्स प्रक्रिया अर्को हप्तादेखि सञ्चालन गर्ने तयारी भए पनि नयाँ आवेदन भने नखुलाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारी निकायबीच निर्देशिका कार्यान्वयनको विषयमा संघर्ष बढेपछि सेवाग्राही चेपुवामा परेका हुन् ।
विभागको निर्देशिका अनुसार परीक्षार्थीले लिखितमा ८० र प्रयोगात्मक परीक्षामा १०० पूर्णाकमा ७० अंकसम्म ल्याए पनि उत्तीर्ण हुने उल्लेख थियो । प्रयोगात्मक परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने व्यवस्था थियो ।
विभागको निर्देशिका सेवाग्राहीमुखी र प्रविधिमैत्री नभएको भन्दै बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयले परीक्षा सञ्चालन गर्न नसकिने निर्णयसहितको पत्र विभागलाई पठाएपछि सवारी लाइसेन्स परीक्षा अन्योलमा परेको हो ।
आवेदकहरू २०७७ कै निर्देशिका अनुसार परीक्षा दिने मनस्थितिले आवेदन दिएकाले आफूहरू सोही अनुसार परीक्षा सञ्चालन गर्न तयार रहेको यातायात व्यवस्था कार्यालय ठूलोभर्याङका प्रमुख सञ्जय थापाको भनाइ छ ।
सरकारी निकायबीचको जुहारीको मारमा लाखौं संख्याका सेवाग्राही परेका छन् । विभागले गत साउनको पहिलो हप्ता परीक्षा सञ्चालन गर्ने बताए पनि निर्देशिका व्यवहारिक नभएको भन्दै परीक्षा सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ ।
दुई निकायबीचको विवादमा लाखौं सेवाग्राही च्यापिएका छन् । विवा बढ्दै जाँदा लाखौैं सेवाग्राही मारमा पर्ने भएकाले संघीय इकाइले हस्तक्षेप गरी समस्या समाधान गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्