
प्रज्ञा तिमल्सीना
काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) विरुद्धको दुवै डोज खोप लगाएका व्यक्तिको स्वास्थ्यमासमेत जटिल समस्या देखिएको छ । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा दुवै डोज खोप लगाएका व्यक्ति पनि संक्रमित भएर गम्भीर अवस्थामा उपचार गरिरहेका छन् ।
नेपालको जनसंख्याको करिव १४ प्रतिशत व्यक्तिले कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप ४० लाख ५२ हजार व्यक्तिले लगाइसकेका छन् । तर, दुवै डोज खोप पुरा गरेका व्यक्ति पनि कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना हुनुपरेको छ ।
सामान्यतया खोपले कोरोना संक्रमण नदेखिने भने होइन । तर, संक्रमण देखिए पनि जटिल स्वास्थ्य समस्या नहुने जनाइएको थियो । हाल कोरोना संक्रमण देखिएर अस्पताल भर्ना हुने बिरामीले खोप लगाएका हुन कि होइन भनेर हामीले उपत्यकाका सरकारी अस्पतालहरूमा बुझ्दा दुवै डोज खोप लगाएका व्यक्तिमा पनि संक्रमण भएर आईसीयू र भेन्टिलेटरमा भर्ना भएको पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कोभिड युनिटमा भर्ना हुने ८० प्रतिशत व्यक्तिले खोप लगाएका छैनन् भने २० प्रतिशत व्यक्ति एक वा दुवै मात्रा खोप लगाएका समेत रहेको अस्पतालले जनाएको छ । कोभिड युनिटका चिकित्सक डा. निरज बमले दुवै डोज खोप लगाएका व्यक्ति समेत क्रिटिकल केयरमा भर्ना भएको जानकारी दिनुभयो । उनीहरूमा जटिल स्वास्थ समस्या देखिएको उहाँको भनाइ छ ।
यस्तै वीर अस्पतालले समेत खोप लगाएका व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिएको जनाएको छ । दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ । टेकु अस्पतालमा पनि खोप लगाएका ५० प्रतिशतसम्म विरामी अस्पताल भर्ना हुने गरेका छन् । दुवै डोज पूरा गरेका केही व्यक्तिमा मात्र जटिल स्वास्थ्य समस्या देखिएको अस्पतालले जनाएको छ ।
यस्तै, पाटन अस्पतालमा भने खोप लगाएका व्यक्तिमा संक्रमण देखिए पनि जटिल खालको समस्या नदेखिएको जनाएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यले दुवै तथा १ डोज खोप लगाएका व्यक्तिमा संक्रमण देखिए पनि स्वास्थ्यमा जटिल समस्या देखिएका संक्रमित भर्ना नभएको बताउनुभयो ।
खोप लगाउँदैमा कोरोना संक्रमण हुनबाट शतप्रतिशत जोगिन नसक्ने यसअघि विज्ञहरूले बताएकै हुन् । तर दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल समस्या नआउने उनीहरूको दावी थियो । यद्यपि काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरूको तथ्याङ्क भने फरक बोलिरहेको छ । त्यसैले दुवै डोज खोप लगाएको भरमा ढुक्क हुने अवस्था नरहेकाले लापरबाही नगरौं ।
प्रतिक्रिया दिनुहोस्