१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


किचलो नटुङ्गिदै कांग्रेस निर्वाचन समिति महाधिवेशन तयारीमा, ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । टाउके नेताहरू क्रियाशील सदस्यताको किचलोमा रुमल्लिरहेको बेला नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा तहको महाधिवेशनको प्रक्रिया अघि बढाएको छ ।

भदौ १८ गते हुने तल्लो तहको अधिवेशन गर्न ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने क्रियाशील सदस्यताको किचलो टुंगिनासाथ बाँकी जिल्लामा निर्वाचन अधिकृत खटाउन समिति तम्तयार देखिन्छ ।

नेपाली कांग्रेसले तय गरेको १४ औं महाधिवेशनको सिलसिलामा वडा अधिवेशनको मिति आउन एक हप्ता बाँकी रहँदा समेत क्रियाशील सदस्यतामा भइरहेको विवादले महाधिवेशनको अन्योलता बढाइदिएको छ । क्रियाशील सदस्यतामा गुटको भाग खोज्ने, नभए प्रक्रियामै भाँजो हाल्ने होडबाजी चलिरहेको छ ।

किचलो साम्य पार्न क्रियाशील सदस्यता छानविन समितिलाई हम्मे–हम्मे परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह क्रियाशीलको प्रतिवेदन सैद्धान्तिक रूपमा कार्यान्वयनमा आए पनि व्यावहारिक रूपमा नआएको भन्दै कुर्लिरहेको छ । यसको सोझो असर केन्द्रीय निर्वाचन समितिको कामकाजमा परेको संयोजक महादेवप्रसाद यादव बताउनुहुन्छ ।

वडा अधिवेशन हुनुभन्दा ५३ दिन अगाडि नै क्रियाशील सदस्यताको अन्तिम सूची दिन निर्वाचन समितिले पटक–पटक आग्रह गर्दै आएको थियो । तर, किचलो नटुंगिदा समितिले पर्याप्त समय नपाउने स्थिति बनेको छ । यद्यपि समिति संयोजक यादव युद्धस्तरमा खटिएर भए पनि महाधिवेशन गराउने बताउनुहुन्छ ।

निर्वाचन समितिले कानुन व्यवसायी, प्राध्यापक र शिक्षक संघका प्रतिनिधिहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । यसपटक क्रियाशील सदस्यको संख्या कुल नौ लाख पुग्ने बताइएको छ । करिब ५० हजार क्रियाशील सदस्य त विदेशस्थित जनसम्पर्क समितिमै छन् ।

कांग्रेसको १४ औं महाधिवेशनको सिलसिलामा गाउँ तथा नगरका वडा, गाउँ तथा नगर कार्यसमिति, जिल्ला समिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय समितिका विभिन्न पदमा निर्वाचितलाई बाँड्न निर्वाचन समितिले चार लाख प्रमाणपत्र छपाइका लागि पठाइएको छ ।