१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली राजनीतिमा ‘समाजवाद’को मोह, मुखमा रामराम बगलीमा छुरा


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । संविधानको धारा ४ मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनिएको छ । त्यसमध्ये समाजवाद अहिले चल्तीको शब्द बनेको छ ।

राजनीतिक दलले समाजवादी फुर्को जोड्नेदेखि आफ्नो लक्ष्य समाजवाद हो भन्ने उल्लेख गरिरहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा समाजवादलाई समाजमा रहेको आर्थिक विषमता हटाइ समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिइ मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजीनितिक सिद्धान्त भनेर व्याख्या गरिएको छ ।

यही नारा बोकेर राजनीतिक सटर खुल्ने क्रम जारी छ । जुन बोलीमा भए पनि व्यवहारमा नभएको राजनीतिशास्त्री कपिल श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कति हदसम्म नेताहरू समाजवादको मूल्य मान्यताप्रति प्रतिवद्ध छन्, कतिसम्म उनीहरूको जीवनशैली र सोच समाजवादी अनरूप छ । यो विषय चाहिँ ठूलै प्रश्न उठ्छ ।’

निर्वाचन आयोगमा दर्ता भएका ९७ ओटा दलहरूमा ९ वटाले आफ्नो नाममै समाजवादीको जलप लगाएका छन् ।

आफूहरू विचारधाराको हिसाबले पहिल्यैदेखि समाजवादी भएको जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडा बताउनुहुन्छ । शब्दप्रतिको मोह बढेकाले भोटको आशमा आफूहरूले पार्टीको नाममै समाजवादी नराखेको उहाँको तर्क छ । पार्टीको नाम जे राखेपछि सिद्धान्त, विचार र एजेन्डा समाजवादी भएकाले विचारलाई पार्टीको नाममा समावेश गर्रिको उहाँको भनाइ छ ।

नेपालमा समाजवाद व्यवहारमा उतारेको पाइँदैन । दलहरू पनि समाजवादप्रति प्रतिवद्ध छैनन् भन्ने उनीहरूको व्यवहारले देखाइरहेको राजनीतिक राजनीतिशास्त्री श्रेष्ठको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘सामान्य जनताले पनि उहाँहरुलाई विश्वास गर्न छोडे । भोलिको दिनमा व्यवस्थामाथि अप्रत्यासित संकट आउनसक्छ ।’ रामनाम जपेर रामराज्य नहुने जस्तै समाजवाद जपेर मात्र समाजवादी नभइने उहाँको बुझाइ छ ।

र पनि समाजवाद शब्द जोड्ने होडबाजी छ । जनता साजवादी विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी, नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पछिल्ला उदाहरण हुन् । नेपाली कांग्रेसको लोकतन्त्र, समाजवाद र राष्ट्रियता नारा नै भयो । कम्युनिष्ट र लोकतान्त्रिक पार्टीमा समाजवाद मोह देखिन्छ । याे जरुरी पनि छ ।

आर्थिक रूपमा सम्पन्न नेताहरूको उपचार राज्यले गरिदिनुपर्छ । निमुखा उपचार नपाएर छटपटाइरहेका हुन्छन् । जसको शक्ति उसको भक्तिले समाजवाद देखाउने दाँतमात्र बनेको त होइन भन्ने भान हुन्छ । समाजवादलाई मुखमा राम राम बगलीमा छुरा गर्ने हो भने वर्तमान शासकीय व्यवस्था नै धरापमा पर्न सक्नेतर्फ दलहरूले बेलैमा सचेत हुनु पर्ने देखिन्छ ।