२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादका कारण एमालेबाट विद्रोह गर्नुपर्‍याे– झलनाथ खनाल


0
Shares

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (एमाले)बाट आफूहरूले विद्रोह गर्नुपरेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरूले विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको तर्क गर्नुभयो ।

भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि विद्रोह गरिएको उल्लेख गर्दै त्यो विद्रोह नव निर्माणका लागि भएको बताउनुभयो ।

वरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । उहाँले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गर्नुभयो । वरिष्ठ नेता खनालले भन्नुभयो, ‘यो विद्रोह हो । विद्रोह सिर्जनाको निम्ति हो । विद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकतावद्ध भएर अगाडि बढ्न म सबैलाई आह्वान गर्दछु ।’

उहाँले थप्नुभयो, ‘सबै कमरेडहरूले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रूपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढ्ने होइन । समाजवादको भनेको सामूहिकता हो । सोही ढंगले अगाडि बढ्ने हो ।’

त्यस अवसरमा वरिष्ठ नेता खनालले आफूले पार्टीमा कार्यकारी पदको दावी नगर्ने पनि स्पष्ट पार्नुभएको छ । पार्टी भित्र कार्यकारी पदको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरूलाई पनि त्यसै गर्न आग्रह समेत गर्नुभयो ।

वरिष्ठ नेता खनालले भन्नुभयो, ‘म ७० वर्ष पुगिसकेका हुनाले मैले अब कुनै कार्यकारी पदमा दावी गर्ने विचार गरेको छैन । तर पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि चाँही मैले ठाउँ राखेको छु ।’

वरिष्ठ नेता खनालले आफू बाचुन्जेल देश, राष्ट्र, राष्ट्रियता र क्रान्तिकारी कुम्यनिष्ट पार्टीको निर्माण र विस्तारमा समर्पित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वरिष्ठ नेता खनाललाई स्वागत गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायत बिमानस्थलमा पुग्नु भएको थियो ।