
काठमाडौं । प्रक्रियागत झन्झटले गर्दा आफूहरू कर्जा सुविधाबाट बञ्चित हुनुपरेको महिला उद्यमीहरूले गुनासो गरेका छन् । कोभिड प्रभावित उद्योगका लागि घोषणा गरिएको कर्जा सुविधाको कार्यविधि सरल गर्न उनीहरूले माग गरेका हुन् ।
महिला उद्यमी महासंघ नेपालले आगामी १७ भदौ देखि २१ गते सम्म आयोजना गर्न लागेको पाँचौ महिला उद्यमीहरूको व्यापार मेलाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उक्त गुनासो गरेको हो । कोभिडले थला परेको व्यवसायी महिलाका लागि सरकारले छुट्याएको १५ लाख सम्मको ऋण महिलाको नाममा अरुले नै लिइरहेको अध्यक्ष रिता सिंहले बताउनुभयो ।
गत वर्ष कोभिडका कारण आयोजना हुन नसकेको व्यापार मेला यो वर्ष भने भर्चुअल माध्यमबाट गरिन लागेको हो । ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलाले महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रर्दशनी, बजारीकरण प्रवर्द्धन र बिक्रिका लागि साझा स्थल सिर्जना गर्ने महासंघले विश्वास व्यक्त गरेको छ ।
मेलाले महिला उद्यमीलाई अनलाइन बजारीकरणका लागि प्रोत्साहन गर्ने आशा लिएको महासंघकी अध्यक्ष सिंहले बताउनुभयो । मेलामा हस्तकलाका सामाग्री, ढाका तथा घरबुना, हाते कागजका वस्तु, गरगहना, सजावटका सामाग्री रहनेछन् । ७९ स्टल रहने मेलामा ५७ स्टल महिला उद्यमी हरुका र २२ जिल्ला महिला उद्यमीलाई प्रतिनिधित्व गर्ने स्टल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्