
स्याङ्जा । जिल्लामा सडक भासिँदा र माथिबाट पहिरो जाँदा सिद्धार्थ राजमार्ग पटक–पटक अवरुद्ध भइरहेको छ ।
गल्याङ नगरपालिका– ११ तुल्सीभञ्याङमा अविरल वर्षाका कारण सडक भासिएको र माथिबाट पहिरोसमेत आइरहेकाले सिद्वार्थ राजमार्ग पुनः अवरुद्ध भएको हो ।
पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिए पनि फेरि पहिरो जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सडकको झण्डै एक सय मिटरको दूरीमा झण्डै ६ फिट भासिएको छ । सडकको बीच–बीचमा चिरा परेको र पहिरो झर्ने क्रमसमेत नरोकिएकाले यात्रुहरू जोखिमपूर्ण यात्रा गरिरहेका छन् । स्याङ्जामा मात्रै सिद्धार्थ राजमार्गमा आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ ।
पहिरो हटाएर स्याङ्जाको राम्दी, मालुङ्गा, वटुवा, जिरो तुल्सीभञ्याङ र चिउरीमा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको छ । पूर्ण रूपमा सडक सञ्चालन गर्न अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्