१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वाईसीएलको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

विवादका कारण पदाधिकारी चयन गर्न नसकेको संगठनको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ ।

केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरू भने चयन गरिएको संगठनका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनुभयो । नयाँ समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दिपशीखाका अनुसार संगठनको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था छ ।

गत शनिबार सुरु भएको वार्ईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गर्नुभएको थियो । तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा उद्घाटन गर्नुभएको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरूलाई परिचालन गर्ने निर्णय पनि गरेको संगठनले जनाएको छ ।