१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमतीमा अबको सरकार मेरो नेतृत्वमा बन्छ– राजेन्द्र पाण्डे


0
Shares

काठमाडौं । माधव नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गर्नुभएको छ ।

मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदले प्रदेश निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले मुख्यमन्त्रीमा दावी रहेको प्रतिक्रिया दिनुभएको हो ।

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले १२ जना सांसदहरूले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउना साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पार्नुभयो ।

आगामी भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको संख्या सार्वजनिक गर्नेछ ।

उहाँले भन्नुभयो, ‘२३ गते निर्वाचन आयोगले नाम दिएपछि संसद सचिवालयमा संख्या पेश गर्छौं, पेश गरेको दिनदेखिनै अहिलेको सरकार अल्पमतमा पर्छ र अबको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाईनै अघि सारिएको छ । सबै दलको सहमतिको क्यान्डिडेट हो म ।’

निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्ने वित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ । त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले बताउनुभयो ।

नेता पाण्डेले सत्तारुढ दलहरू सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको पनि बताउनुभयो ।