२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भीम रावल लगायतलाई ओलीले ओढाएको निगाहको छाताले कतिन्जेल बचाउँछ असिना पानीबाट ?


0
Shares

संजिव कार्की 

भीम रावलको उचाईमा क्षय भएको देखेर खिन्न हुने मान्छे धेरै छन् । उनको पार्टी भित्र या बाहिर वा ! वा ! भीम रावल भनेर चुलिएको प्रशंसा र सम्मान एकाएक धरासयी भएको देखेर व्यक्तिगत रूपमा मलाई पनि दुख लागेको छ । राष्ट्रवादी कमरेडको छवि बनाएको र देशभक्त नेताको परिचय फराकिलो बनाएको मान्छे आज यसरी ढुलमुल गर्दै कहिले यता कहिले उता गर्दै आफूले सत्तोसराप गरेको व्यक्तिको टाङामुनि छिरेको देखेर मान्छेहरु आश्र्चार्यले जिब्रो टोकेका छन् । कम्युनिस्ट नेताकार्यकर्ता र अन्य मान्छे कमरेड भीमको निर्णयले ताज्जुब मानेर हेर्दै छन् । लोकप्रिय नेता र कम्युनिस्ट पार्टीको जल्दोबल्दो नेताको दिग्भ्रमित पार्ने निर्णय र बोलीमा आकस्मिक फेरबदल आएको हुँदा उनलाई हेर्ने दृष्टिकोणमा पुरै बदलाव देखिन्छ । भीम कमरेडले हाँसिल गरेको राजनीतिक उचाई ईश्र्या लाग्दो थियो । अडान बोलीमा, दम र निर्भीक आवाजले भीम कमरेड धेरैको प्रिय थिए भने आजकल उनको बोलीमा आएको परिवर्तनले उनको ओज घटेको देखिन्छ ।

सार्वजनिक मंचमा ओलीको विरुद्ध गर्जने भीम लगायत अन्य नेताहरु एमालेका नव प्रवेशी हुन ।  अहिले माधव नेपाल तिर खनिन लाग्नु भएको भद्दा दृश्यले देखिदैछ । सामाजिक सन्जालमा टुइट् गर्दै वरिष्ठ अधिवक्ता डाक्टर युवराज सङ्रौलाले लेखेको धारणाबाट बौद्धिक वर्गले नेतालाई र अहिलेको राजनीतिक घटनाक्रमलाई कुन दृष्टिविन्दुबाट अवलोकन गरेका छन् प्रष्ट हुन्छ । सङ्रौला लेख्छन् । ” अहिले म ठिक छु भन्न पहिला गलत रहेछु नभन्ने हो भने भीम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने हुन्छ । जोसुकैलाई  आफ्नो रोजाईको दल छान्ने र छाडने अधिकार छ । रावलको हकमा पनि छ । तर ती पहिलेको कविता र गाली पनि ठिक हुन् र अहिले पनि म ठिक छु भन्ने कुरा चै एकदम गजब छ । अहिले म ठिक छु भन्न पहिले गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ । ” माथिका भनाइ भीम कमरेड लगायत हिजो ओलीको विपक्षमा ज जसले सार्वजनिक मंचमा जे बोले र आज कुनै परिवर्तन बिना , कुनै क्षमा याचना बिना कुनै गम्भीर राजनीतिको निर्णय बिना जे गरिएको छ जुन नाटक प्रदर्शन गरिएको छ ती सबै पात्र र प्रवृतिलाई यो पेचिलो र गम्भीर प्रश्न बनेर तेर्सिएको सवाल हो । राजनीतिक रंगमंचमा एमालेका नेताकार्यकर्ताले जे प्रदर्शन गरिरहेछन् त्यो देख्दा लाज आफैमा लजाएको अनुभुति भएको छ ।

व्यक्तिको पार्टी रोज्ने र छोडने स्वतन्त्रता हुन्छ तर मर्यादाहीन बनेर निर्लज्ज भएर हामीले जे बोले जे गरे पनि हुन्छ भन्ने ढंगले दल बदल गर्नु र विश्वास घात गर्नु चै पटक्कै सुहाउने कुरा होइन । इज्जत बेचेर सम्पत्ति आर्जन गर्नेहरुको झै देखिएको छ भीम रावल, घनश्याम भुसाल ,भीम आचार्य ,अस्ट लक्ष्मी शाक्य , अमृत बोहरा, योगेश भट्टराई , सुरेन्द्र पाण्डे , रघुजी पन्त गोकर्ण बिष्ट लगायतको राजनीति । आफ्नो अडान नैतिकता र इमान नभएका राजनीतिका खेलाडीको रूपमा यिनीहरूको नाम अङ्कित हुँदैछ । उसै त इमान जमान नभएकोमा नाम लिनु पर्दा राजनीतिज्ञको लिइने आम प्रचलन छ भने झन छेपारे राजनीतिको अग्रपंक्तिमा उल्लेखित नेताहरुको नाम लिने ताजा उदाहरण बन्यो ।

प्रतिनिधि पात्र र मुखर रूपमा आएका नेता डाक्टर भीम रावलको नाम लिएर मैले यी प्रवृतिका सबैप्रति आम मान्छेको जिज्ञासा सोधिरहेछु । ओली प्रधानमन्त्री हुँदा बारम्बार प्रधानमन्त्री निवास बालुवाटारबाट ज्यान मार्ने धम्की आएको र सुलेमानी बनाइदिने कुराको पोल नखोली पुन ओलीकै शरणमा भीम रावललाई जानुपर्ने कारण के हो ? ज्यान मार्ने धम्की दिने ओलीसँगै तुरुन्तै घाँटी जोडनुको रहस्य नेकपा एमाले बिगठन नगर्ने ,  एमाले बिभाजन रोक्ने मनसाय हो भने त्यो निस्चय नै महान कुरा हो । तर त्यो महानताको अगाडि पछाडी के बोलियो के भनियो त्यसको सार्वजनिक जवाफ अपेक्षित छ । भीम रावलले सार्वजनिक रूपमा भन्नू पर्छ ओली वालुवाटार निवासी हुँदा ज्यान मार्ने धम्की दिने को हो ? कसले र किन धम्की दियो ? ज्यान मार्ने धम्की पाउनु नेता रावलको निजि मामला हो कि देसको शान्ति सुरक्षाको प्रश्न ? आफूलाई ज्यान मार्ने धम्की दिने प्रधानमन्त्रीको कार्यकाल शान्ति सुरक्षाको लागि स्वर्ण काल भन्न अब  कुन मुखले दिन्छ ? सार्वजनिक जबाफदेही बन्नुपर्छ कि पर्दैन ? कसको दूध भात खाएर आफ्नै पार्टीका अध्यक्ष निवासबाट त्यस्तो धम्की आयो ?

माधव नेपालललाई उक्साउनु जति उक्साएर  हिड्नेको नेकपा एमालेमा मर्यादाक्रममा  प्राविधिक हैसियत सुर्य थापा र गोकुल बास्कोटा र महेस बस्नेतको भन्दा माथि होला तर नैतिक र आचारण अनि अवसरवादीताको दृष्टिकोणबाट हेर्दा पक्कै तल छ । उनीहरूको सामुन्ने ओली नेतृत्वमा भएको पार्टीमा माधवलाई धोका दिएर जानेको शिर झुकेकै हुनुपर्छ । सामुन्नेमा आँखामा आँखा जुधाएर बोल्ने हैसियत पक्कै निकट बिगतको आफ्नो बोली र व्यबहारका कारण संभव छैन । बोलीमा अराजक र मर्यादाहीन गोकुल र सूर्यहरु पनि छन् , हुन तर उनीहरु आफ्नै कित्ता र अडानमा थिए, छन् । कतै लम्पसार पर्न गएका होइनन् । आफ्नै बाको असली खेताला गोठाला मात्रै हुने । ओली खेमाका ती बदनाम र अन पपुलर पात्र हुन तर आफ्नो मान्यता र अडानका कारणले उनीहरू इमानदार छन् ।

तथापि ईमानदार हुनु र नैतिकता सहित इमानदार हुनु फरक कुरा हो । वस उनीहरूसँग पनि नैतिकता छैन र थिएन । दुर्भाग्य भीमहरुसँग आफ्नै मान्यतासँग, आफ्नै बोली र स्वाभिमानसँग पनि थोरै पनि इमानदारी बचेन । नैतिक मुल्यलाई तिरोहित गर्ने ग्याङ मात्रै रह्यो । भीम रावलले ओढ्ने राष्ट्रवादको पछ्यौरीले पनि अब भीमको इज्जत ढाक्न सक्दैन । भिजेको विरालो बनेर आत्मसमर्पण गर्नु नै थियो भने बाघ हुँ भन्दै सडक देखि अदालत र संसद सम्म किन नग्न प्रदर्शन गर्नु भयो ? आफूलाई अग्रमनकारी भन्ने मान्छे दुई दुई पटक संसद बिगटन गर्ने प्रतिगामीको जुवामा किन नारिन जानू भयो ? ओलीलाई सत्तो सराप गर्ने ओठ अब ओलीको भजन किर्तन गर्न कसरी तयार भयो ? वैचारिक र स्पष्ट अडान भएका नेता भनेर बनेको परिचय ओलीको पैताला मुनि ऎया आथा गरेको र स्खलित भएको देख्नु पर्दा भीमहरुका समर्थक र सुभेच्छुकलाई कस्तो मनोदशाले घेर्या होला ? मलाई यहाँनेर झलनाथ खनालले अस्पतालको बेडबाट भनेको सम्झना भयो । ” मध्य पन्थको आयू लामो हुदैन । ” पक्कै पनि मध्य पन्थ कुनै मार्ग होइन र दीर्घकालीन सामधान पनि बन्न सक्दैन । माधव नेपाललाई बाहिर राखेर पिंढिमा राखेर गरिने एकता कुनै पनि हालतमा स्विकार गरिन्न, त्यस्तो पार्टीमा सामेल बनिन्न भनेर बोलेको भोलिपल्ट माधव नेपाल र झलनाथ बिनाको पार्टी बनाउने उद्देश्यकाे रहस्य के हो ? ओली सच्चिन सक्दैनन् ओलीलाई नेता कुनै पनि मुल्य र मानेमा मान्दैनौ भन्नेलाई ओलीको निगाहमै बस्नु र बाँच्नु पर्ने स्थिति कसरी बन्यो ?रावल, भुसाल लगायत जसले पछिल्लो समयमा आएर माधव नेपाललाई धोका दिएर ओलीको भुल भुलैयामा परे तिनीहरूलाई रैतीका यी प्रश्नहरु । 

नेपाली जनताका या तपाईहरुले सम्झने रैतीका प्रतिनिधि प्रश्नहरु हुन । जसको जबाफ दिएर एकता गर्नु पर्थ्यो । मिल्नु पर्थ्यो । कुनै नाटक या सिनेमाको अभिनय नभएको हुनाले राजनीति पार्टीले यी कुरालाई मध्य नजर गर्नु जरुरी छ ।

१.प्रतिगमन ओलीआफैले सच्याएका हुन् या आफ्नो कदम गलत भयो भनेर आइन्दा गर्दिन भनेर आत्माआलोचना गरे ?

२.पार्टी बिधान, बिधि र पद्धति नचलेर मैले बेठिक गरे अब माफी माग्छु र पार्टीको नीतिको खिलाफमा जान्न कतै बोले

३.मनोमानी गर्दिन निति र नेतृत्वको सहभागीतामा पार्टी चलाउँछु सुनियो यस्तो । 

४. दुई तिहाइ नजिक पुगेको पार्टीको अवसान गराउन भूमिका खेल्ने व्यक्ति कसरी रातारात नायक बने  ।

५. ओली कम्युनिस्ट होइनन् उनले समाजवाद्को होइन विचौलिया दलाल पुजीवादको रक्षा गरे भन्नेले आफूलाई कम्युनिस्ट भन्दै उनकै निगाह किन खोजेको ।

६. ओलीले गुमाएको पार्टीको जनमतको आगामी क्षतिपूर्ति कसरी लिने ?

७. ओलीकै सरकार ढालेर ओलीकै नेतृत्वमा चुनावमा के भनेर भोट माग्न जाने ?

८.ओली संरक्षणमा गरिएको भ्रष्टाचार बारे छानबिन भएर ओलीले क्लिन चिट पाए कि मिथ्या आरोपमा लान्छना लाउनेले क्षमा याचना गरे ?

९. स्वार्थको तुलो जोखेर लेनदेन गरे पछि सबै आरोप इरेज हुन्छन र ? तर्कको कारण मात्रै हुन्छ कि यथार्थ धरातल पनि ? 

१०.राजनीति घृणा नै घृणाको खेल मात्रै हो कि त्यसमा विसुद्द समाज सेवा र देश सेवाको केही अंश पनि बाँकी छ ?

११. कतै र कुनै रियालाइजेसन नगर्ने ओलीसँग झुक्नु नै थियो भने उनको सरकार किन असमयमा ढाल्नु परेको हो ? कि सरकार ढालेर ब्लन्डर गरेकोमा माफी मागेर क्षमादान मिलेको हो ?

१२. भक्त बन्नु नै थियो भने सडक तमासा के को लागि थियो। तमासा गलत थियो भने माफी मागेर हामी मिलेका हौं किन भनिएन ?

१३ द्वैध चरित्र लिएर राजनीति कतिन्जेल चल्छ ?

१४. कुन कुन सैद्धान्तिक मुद्दामा सहमति खोजियो ?

१० बुँदे सहमति भन्ने माधव कमरेडद्वारा अस्विकृत शर्तनामा नै विलयको आधार हो ?१५.जोखिम उठाउन नचाहने तर ठुलो भाग खोज्ने पुस्ताको रूपमा परिचित बन्ने सौभाग्य हो कि दुर्भाग्य ?१६.ओलीले ओढाउनु भएको निगाहको छाताले कतिन्जेल बचाउँछ असिना पानी र घामबाट ?