
प्रज्ञा तिमल्सीना
काठमाडौं । सबै उपचार सम्भव भएसँगै नेपालमा क्यान्सरका बिरामी थपिने संख्या बढ्दो छ । तर, विकिरणको माध्यमबाट क्यान्सर उपचार गरिने रेडियोथेरापी मेसिन पर्याप्त नहुँदा बिरामीले सास्ती व्यहोर्नुपरेको छ ।
वीर अस्पतालमा करोडौं मूल्यमा खरिद गरिएको मेसिन ३ वर्ष देखि जडान नगरी थन्काइएको छ । अहिले मुलुकभरका दुईवटा सरकारी अस्पतालले मात्र यो सेवा दिएका छन् । जसले गर्दा निजी अस्पतालमा महंगो शुल्क तिर्नुपर्दा बिरामीको ढाड सेकिने मात्र हैन, पालो पर्खंदा पर्खंदै रोगीको प्राण पखेरु उड्ने गरेको छ ।
क्यान्सर रोग उपचार गर्ने पद्धतिमध्ये एक हो– रेडियोथेरापी । विकिरणको माध्यमबाट क्यान्सरका सेलहरूलाई मार्ने र शरीरमा फैलन नदिन रेडियोथेरापी गरिन्छ । क्यान्सर रोग देखिएको सुरुवाती चरणमा वा फैलिएर अन्तिम चरणमा पुगेको समयमा रेडियोथेरापी उपचारको विकल्प हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार १० लाख जनसंख्यामा कम्तिमा पनि १ वटा रेडियोथेरापी मेसिन आवश्यक पर्छ । सो अनुसार नेपालमा ३० वटा मेसिन चाहिने हुन्छ । हाल यो मेसिन सरकारी अस्पताल तर्फ भक्तपुर क्यान्सर अस्पतालमा २, वीपी कोइराला क्यान्सर अस्पताल चितवनमा २ वटा मात्र रहेको छ । निजी तर्फ हरिसिद्धीको नेपाल क्यान्सर अस्पताल, काठमाडौ क्यान्सर केयर सेन्टर र वीएण्डसी क्यान्सर अस्पताल झापामा १/१ वटा मात्र रहेको छ ।
वीर अस्पतालमा २०७५ सालमा नै ४७ करोड ९० लाख ६० हजारको सी.टी सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरी जडान नै गरिएको छैन । वीरका अकोलोजी विभाग प्रमुख डा. विवेक आर्चायले मेसिन आफूहरूलाई हस्तान्तरण नै नभएका कारण जडान नभएको बताउनुभयो ।
वीर अस्पतालमा उपचारमा आउने क्यान्सर रोगीलाई रेडियोथेरापीका अन्यत्र पठाउने गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गराउने बिरामीको चाप बढ्दो छ । अस्पतालले १ दिनमा तीन चरणमा १ सय माथि बिरामीको रेडियोथेरापी गर्ने गरेको छ ।
अस्पतालका रेडियोथेरापी अङ्कोलोजीष्ट डा. सुधिर सिलवालले बढ्दो चापका कारण थेरापीका लागि बिरामीले ३ हप्ता सम्म पर्खनुपर्ने अवस्था रहेको बताउनुभयो । रेडियोथेरापी कम्तीमा पनि १ देखि डेढ महिनासम्म गर्नुपर्ने हुन्छ । जसका लागि निजी अस्पतालमा २ देखि ३ लाख सम्म खर्च हुने गर्छ । यसका लागि भक्तपुर क्यान्सर अस्पतालले नै १ लाख १५ हजार सम्म लिने गरेको छ ।
स्वास्थ्य र शिक्षामा मुलुकको आधा बजेट खर्च हुन्छ । तर, यही क्षेत्र अनुत्पादक भएपछि प्रत्येक सरकार आलोचित हुने गरेका छन् । देशकै जेठो अस्पतालमा जनताको स्वास्थ्यमाथि गरिएको चरम लापरबाहीको शीघ्र उपचार खोजिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्