६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सुरु


0
Shares

बागलुङ । धौलागिरि अस्पताल बागलुङमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु गरिएको छ ।

असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि बजेट नआउँदा दुई महिना ढिलोगरी काम सुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालकाे स्तरवृद्धि गरी २ सय शय्याको गण्डकी प्रदेश स्तरीय उप–प्रादेशिक अस्पताल बनाउन लागिएको र सबै शय्यालाई पुग्ने र आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत भरेर पालिकाका अस्पताल तथा स्वास्थ्य चौकीमा पठाउन सक्ने गरी अक्सिजन प्लान्ट बनाइँदै छ ।

अस्पतालमा यसअघि सिलिन्डरमा भर्न नमिल्ने २५ शय्यालाई मात्रै पुग्ने अक्सिजन प्लान्ट सञ्चालनमा थियो । कोरोनाको दोस्रो लहरमा धौलागिरी अस्पतालमा एकै पटक ४७ जना सम्म कोरोनाका गम्भीर बिरामी भर्ना गर्दा अक्सिजनको चरम अभाव भएर पोखराबाट दैनिक १ सय २० अक्सिजन सिलिन्डर आयात गर्नुपरेको थियो ।

प्लान्ट निर्माणका लागि २ करोड ४० लाखमा एक सप्लायर्ससँग सम्झौता भएको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताउनुभयो ।