१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

कृषि र पर्यटन सहकार्यका प्रमुख सम्भाव्य क्षेत्र

0
Shares

काठमाडौं । संयुक्त अरव इमिरेट्स यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड दिइएको छ । कृषि र पर्यटन सहकार्यका प्रमुख क्षेत्र हुन सक्ने बताइएको छ ।

द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देश बीच गम्भीर गृहकार्य हुनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघले जोड दिएको हो । नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छा बीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको हो ।

दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार सन् २०२०/२१ मा ३६ अर्व भन्दा बढीको व्यापार घाटा रहयो । सन् २०१९/२० मा करिव १८ अर्व र २०१८/१९ मा ३५ अर्वको व्यापार घाटा थियो ।

नेपालले तयारी पोसाक, हाते गलैचा तथा हस्तकलाका सामान, मुसुुरोको दाल लगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन चांदी, खनिज तेल र यससंग सम्बन्धित अन्य उत्पादनहरू, प्लाष्टिक्स तथा प्लाष्टिक्सजन्य सामान, कपर स्क्राप, चकलेट, कार्पेट तथा अन्य ओछ्याउने वस्तुहरू युएईबाट आयात गर्दै आएको छ ।

उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उहांहरूको जोड थियो ।