
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको बताइएको छ । उता सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तल्लो डुम्रेमा गएको पहिरो हटाउन सिद्धार्थ राजमार्गमा रात्री सेवा बन्द गरिएको छ ।
बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि डुम्रे क्षेत्रमा यातायात बन्द गरिएको हो ।
सडक डिभिजन कार्यालयको अनुरोधमा डुम्रेको पहिरो हटाउन बाटो बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । दुई दिनका लागि रात्रीकालीन यात्रा नगर्न सर्वसाधारणलाई प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्