
एजेन्सी । शिर्ष खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । अमेरिकाको न्युयोर्कमा आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा इटालीका माटियो बेरेट्टीनीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाईनलमा पुगेका हुन् ।
पहिलो सेट ७–५ ले गुमाएका जोकोभिचले यसपछिका तिन सेट लगातार ६–२, ६–२ र ६–३ ले जित्दै सेमिफाईनलमा स्थान पक्का गरे । किर्तीमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने अभियानमा रहेका जोकोभिचले अब सेमिफाईनलमा जर्मनीका अलेक्जेण्डर भेरेभको सामना गर्नेछन् ।
क्वाटरफाईनलमा दक्षिण अफ्रिकी खेलाडी लोएड ह्यारिसलाई ७–६, ६–३ र ६–४ को सेटमा हरााउदै ओलम्पिक च्याम्पियन भेरेभ सेमिफाईनलमा पुगेका हुन् ।
उता, महिलातर्फ ब्रिटेनकी इम्मा राडुकानु सेमिफाईनलमा पुगेकी छिन् । क्वाटरफाईनलमा स्विट्जरल्याण्डकी बेलीन्डा बेन्सीकलाई सोझो सेटमा हराउँदै राडुकानु सेमिफाईनलमा पुगेकी हुन् । बेन्सीकविरुद्धको खेल राडुकानुले ६–३ र ६–४ को सोझो सेटमा जितिन् ।
युएस ओपनको डेब्युमै सेमिफाईनलमा पुग्न सफल राडुकानुले अब फाईनल प्रवेशको लागि ग्रिसकी खेलाडी मारिया सक्कारीको सामना गर्नेछिन् । क्वाटरफाईनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभालाई ६–४ र ६–४ को सोझो सेटमा हराउँदै सक्कारी सेमिफाईनलमा पुगेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्