९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


पूज्य देवीहरुको ‘महिनावारी’ हुँदैन थियो, कि बार्दैन थिए ?


0
Shares

-डा.सुजाता पन्त/संजिव कार्की 

महिनावारी, मासिक धर्म, पिरियड अर्थात छाउ । नछुने जे भने पनि यो स्त्रीहरुमा एक उमेरहद देखि अर्को उमेर समूहसम्म हुने नियमित, प्राकृतिक , स्वाभाविक र गौरवको विषय हो । प्रकृतिमा फल लाघ्नु अघि फूल फुलेको स्थिति हो महिनावारी । तर दुखदायी कुरा यही प्राकृतिक धर्म बहन गर्दा नारीहरु अछुत बन्नुपर्ने, छाउ गोठमा बस्नुपर्ने, सामाजिक ब्यवहारिक जीवनमा अछुत हुनुपर्ने । झन् स्कुल पढ्ने नानीहरु कक्षा बाहिर नै रहेर बस्नुपर्ने जुन दर्दनाक कथाव्यथा छ यसले देवता रिसाउने नाममा नारी माथि दमन गरेको छ । शोषण गरेको छ पीडामाथि पीडा थोपरिदिएको छ ।

हामीले बुझ्नुपर्ने र मनन गर्नुपर्ने कुरा चाहीं केहो भने हाम्रा धर्म ग्रन्थमा हामीले परापूर्वकालदेखि पुज्दै आएका स्त्री लिंगी देवीहरू जस्तैः पार्वती ,लक्ष्मी ,सरस्वती भगवती लगायतले महिनावारी बारेको कतै उल्लेख भएको छैन । त्यसैले भगवानले नबारेको महिनावारी मान्छेले बार्नु तर्क संगत देखिदैन । देशभरका महिलाले छाउ बार्ने नाममा विभेद भोगे पनि पश्चिम र नेपालको सुदूरपश्चिम भागमा यो प्रथा अझै डरलाग्दो स्थितिमा छ । जहाँ महिनावारी हुँदा र सुत्केरी हुँदा नौ देखि २२ दिनसम्म घर भन्दा पर छुट्टै छाउ गोठमा कष्टपूर्वक बस्न लगाइन्छ । विशेष त क्षेत्री ब्राह्मण, ठकुरी, उच्च कुलिन परिवार र समुदायमा समेत यो प्रथा रहेको छ । जनजाति र दलित समुदायमा छूइ प्रथालाई खासै अपनाइएको पाइन्न । यो सुखद पक्ष हो ।

आखिर जो जसले जसरी अपनाए पनि यो प्रथाको अन्त्य जरुरी छ । जसको अन्त्य गर्न जति ढिला गर्‍यो उति हाम्रा आमा, दिदीबहिनी माथि गरेको पाप हामीलाई लाग्नेछ । नछुने हुदाँ र सुत्केरी हुँदा छाउ गोठमा बस्नु परेको कारण मातृ मृत्युदर र शिशु मृत्युदरमा डरलाग्दो वृद्धि र विकृति देखिएको छ । देवता मान्छेलाई अमानवीय ब्यबहार गर्दा रिसाउछ्न मानवीय ब्यबहार गर्दा खुशी बन्छन तर हामीले छुइ बार्ने प्रथाको रुपमा महिलालाई बहिस्कार गरेर, पीडा दिएर, कस्टकर अवस्थामा राखेर मानवअधिकारको उलंघन गरेर जुन अपराध गरेका छौं त्यो  देवताको खुसीको लागि किमार्थ हुन सक्तैन ।

आफ्नै प्राणी त्यसमाथि आफ्नी आमा जननीप्रति गरेको पशुवत हिंसा देवतालाई मन्जुर कसरी हुन सक्छ ? नछुने बार्नु आफैंमा बेठिक र खराब होइन तर यसलाई बार्ने तरिकामा व्यापक फेरबदल जरुरि छ । नछुने बार्नु ठिक हो भन्ने तथ्यलाई आधार मानेर हेर्दा, स्वास्थ्य र शारीरिक संवेदनशीलताको कारण पनि छाउ बार्नु अनुचित होइन । नछुने, छुने भएर बार्नु र बार्न लगाउनु पर्छ । पिरियड बार्नुको अर्थ धार्मिक पाप र अपराधको अर्थमा आजको समाजले बुझ्न र ब्याख्या गर्न कति पनि सुहाउँदैन, मिल्दैन र वैज्ञानिक तर्क र आधार भेटिन्न ।

तर यो समय अपवित्र र अपसकुन होइन, विल्कुल अधर्मसँग जोड्न सकिन्न बरु यसलाई धर्मसँग जोडेर हेर्नु मानवीय ढंगले पालन गर्नु यसको निष्ठामा बस्नुमा बिज्ञान छ, तर्क छ ,धर्म छ, अर्थ छ । धर्म यसकारण कि यो बेला नारीमा हुने मानसिक उतारचढाव शारीरिक कमजोरी, थकाई र रक्तश्रावको कारण शरीरले बिश्राम चाहेको हुन्छ । अतः यो अवधिभर बिश्राम गर्नुलाई धर्मसँग जोडन सकिन्छ । बिरामी रोगी र असक्त काममा नजानु धर्म हो । शरीरले असहजता महशुस गर्दागर्दै काममा जोतिनु बैज्ञानिक पनि हुन्न । त्यसैले यो बेला आराम र ध्यानको जरुरत पर्छ । ध्यान, आराम वा बिश्रामलाई मध्यनजर गरेर मासिक धर्मलाई बार्नु आवश्यक हो । मासिक धर्म छोइने भएर बार्नु अन्यथा नहोला आरामदायी अवस्थामा रहनु, सफा र स्वच्छ रहेर कम शारीरिक परिश्रम गर्नु, ध्यान ज्ञानसँग जोडिनु यतिबेला अवसर भनेर बुझ्नुपर्छ । पर बस्नुको अर्थ छाउ गोठ या अन्तै अलग्गै बस्नु, अन्तै रहनु बिना स्याहार बिना आहार रहनु होइन, बरु आफ्नो शरीरको विशेष ख्याल गर्नु, उचित देखभाल गर्नु , स्वास्थ्य वर्द्दक खाना खानु र आरामको अवस्थामा रहनु हो ।

सृष्टीमा स्त्री र पुरुष हुनुको आफ्नै प्राकृतिक कारण, विशेषता र भूमिका छन् । सोही प्राकृतिक कारण र सृष्टीको गहन जिम्वेवारी निर्वाह गर्न नारीको योनीबाट रगत बहन्छ । स्त्री जातिको मासिक धर्म अर्थात नारीको शरिरबाट रगत बहेकै कारण मानव जातिको अस्तित्व पृथ्वीमा भएको हो । त्यसैले यो प्राकृतिक, जैविक कुरा स्वाभाविक सृष्टीको अनुपम बरदानलाई घृणा, अपमान, र छोइछिटोको सबालबाट बर्जित बनाइनु पर्छ, हुनुपर्छ । हाम्रो समाजमा नछुने हुँदा जे बारिन्छ जे बर्जित गरिन्छ । त्यो कुनैपनि मानेमा वैज्ञानिक, ब्यबहारिक र मानवीय छैन । जसलाई परिवर्तन गर्न सकिएन भने अझै कति चेली छाउ गोठमा बसेर मृत्यु रोज्न बाध्य हुनेछन ।

मृत्यु यस अर्थमा कि छाउ गोठ बस्दा सर्पदंसको सम्भावना बढी रहन्छ र छाउ गोठमा सर्पले टोकेर मान्छे मरेको खबर बारम्बार सुन्न पाइन्छ । छाउ गोठ भत्काएको समाचार पनि बिभिन्न सरकारी र गैर सरकारी संघ संस्थाहरुले सार्वजनिक गरिरहेकै छन । यहाँ प्रश्न, छाउ गोठ भत्काउनुको होइन, छाउ संस्कार बदल्न सामयिक बनाउन र छाउ प्रथा हटाउनु हो । छाउ गोठ भत्काएर छाउ मानसिकता भत्कदैन । पहिले छाउ मानसिकता भत्काउ, गोठ उसै भत्कन्छ ।

म एक मेडिकल डाक्टर ,मेडिकल साइन्सकी बिद्यार्थी, एक आम महिला मेरा निजी अनुभव र अनुभूति पनि शेयर गरेर हाम्रो समाजमा विद्यमान नछुनी बार्ने प्रथाको चित्र उल्लेख गर्न सान्दर्भिक देखेको छु । तिहारको झिलिमिली मौसम थियो मखमली, गोदावरी, सयपत्री लगायत फूलहरु फुलिसकेका थिए । तिहारको रौनक जताततै देख्न पाइन्थ्यो । सधै व्यस्त र जागरुक भएर रहनुपर्ने, चाडबाड, आफन्त र रमाइलो भन्दा बिरमीसंगको समिपमा रहनु डाक्टरी पेशाको धर्म र मर्म हो । लक्ष्मी पूजाको दिन थियो । संधै झैँ ड्युटी जान्छु । वार्डमा गएर हरेक बेडका बिरामीको अवस्था नियाल्छु । रिपोर्ट हेर्छु । चाडबाडको बेला भएकोले सुधार भएका र सुधारउन्मुख बिरामीलाई डिस्चार्ज गरेर घर पठाइदिने कागजाजमा साइन गिरिदिन्छु ।

डिस्चार्ज हुने बिरामीको पालोमा एकजना भर्खर बिहे भएकी तर दुर्घटनामा परेर अस्पताल भर्ना बसेकी महिला थिइन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको थियो । उनको अप्रेशन सफल भएर थोरै मात्र कमजोरी बाँकी थियो । तिहारको बेला उनलाई डिस्चार्ज गर्ने मनशायसहित गएर भनें, ‘तपाई अहिले घर जानुस, तिहार मनाउनुस, तत्काल समस्या केही छैन, भएमा आउनुहोला ।’ मैले यति मात्र भनेको थिएँ, उनले भनिन, ‘डाक्टरसाब म अहिले घर जान्न तिहारसम्म अस्पताल नै राखिदिनुस न, म तिहारपछि मात्रै घर जान्छु ।’ म अचम्ममा परें । चाडबाडको बेला गम्भीर र अत्यन्त जटिल स्वास्थ्य स्थिति भएका मान्छे समेत घर मिस गर्छन। घर जान पाए हुन्थ्यो भन्छन । तर यी महिला यो बेला पनि घर जान मन गर्दिनन् ।

मलाई मनमा चिसो पस्यो र उत्सुकतापूर्वक सोधें- किन बैनी ? उनी, मौन बसिन । तर उनको मौनता आँखाको बाटो भएर ओर्लियो । वास्तविकता उनी नछुने भएकी रहिछन । त्यस्तो बेला घर पुग्नु उनका लागि नर्क गए बराबर रहेछ । ‘सासु कडा हुनुहुन्छ, तिहारको बेला घरमा पूजाआजा हुन्छ, छाइछुइ यताउता गाह्रो हुन्छ । माइतमा पनि चार वर्षपछि विदेशबाट तिहारको लागि भार्इ आएको थियो तर मेरो दुर्भाग्य नछुने भए टिका लगाउन पाइँन, भन्दै भक्कानिएर रोइरहिन ।’

म निशव्द भए आखिर यही समाजमा हुर्के बढे र पढेकी नारी हो म पनि । महिनावारी र रक्तश्रावप्रति हाम्रो समाजकोको सोच धारणा र अन्धविश्वासको कारण महिला माथिको यो भेदभाव, छुवाछुत सम्झेर जातीय छुवाछुत र दलित भएर संधै छुवाछुतमा जीवन जिउन बाध्य ६० लाख नेपाली दाजुभाइ दिदीबहिनीको सामूहिक पीडाले झस्कायो । नमिठोसंग दुखायो । अन्ध विश्वास, अन्ध परम्परा र संस्कार अवैज्ञानिक सोचले मान्छे मान्छेप्रति विभेद गर्छ । जसलाई चिर्नु र फाल्नु अत्यावश्यक छ । एमबिबिएस पढिरहेको बेला मेरो पनि तिहारको समयमा महिनावारी भएको थियो । म तिहारमा घर नजाने सोचमा थिएँ । म आफैं मेडिकल क्षेत्रको मान्छे मैंले पनि केही बुझेको छु । जानेको छु । तर घरपरिवारमा परम्परागत रुपमा चली आएको चलनलाई पारिवारिक मर्यादाको खातिर कसरी तोड्नु भन्ने लाग्थ्यो । समाजको मनोविज्ञानसँग कसरी सामना गरौं भन्ने लाग्थ्यो ।

तर त्यहीबेला मेरो दाइले फोन गरेर तिहारमा जसरी पनि आउन र टीका लगाएर समाजको त्यो भ्रम तोडन मलाई उत्प्रेरित गर्नुभयो । मेरो दादाले भनेको कुरा म सम्झन्छु । उंहाले भन्नु भएको थियो– ‘तिमी हाम्रो घरकी प्रिय मान्छे, तिमी बिनाको हाम्रो तिहार अपुरो अधुरो र खल्लो हुन्छ । मैंले मेरी बहिनी हुँदाहुँदै मेरो निधार खाली राखेर म यो कुप्रथालाई निरन्तरता दिन सक्दिन । प्रिय बहिनी आऊ मेरो निधार खाली नराख । खाली निधार र मन भारी पारेर तिहार खल्लो पार्न हुन्न । हामी जति बुझेको पढेलेखेको मान्छेले यस्तो कुसंस्कार र अन्धविश्वासलाई मान्यौं भने हाम्रो समाज कहिल्यै परिवर्तन हुने छैन । आउ बैनी टीका लगाउ । समाजको यो बेथितिमा थोरै भए पनि हाम्रोतर्फबाट दख्खल गरौं ।’

मैंले महिनावारी भएकै समयमा मेरा दाइभाइलाई तिहारको टीका लगाएँ । मेरो जस्तो त्यो भाग्य त्यो अवसर सबै नेपाली दिदीबहिनीको लागि होस् भनेर नै मैले मेरो निजी अनुभव पनि बाँड्ने चेस्टा गरेको छु । मैंले महिनावारी भएको समयमा पनि टीका लगाएको थुप्रै वर्षहरु बितिसके मेरो घर, परिवार, मेरो दाइ भाइ र म स्वयंलाई कुनै अपसकुन भएको छैन र मैले महिनावारी भएकै कारण टीका लगाउदा कुनै अशुभ हुँदैन पनि । हाम्रा घरका देवता रिसाएका छैनन् बरु खुशी नै भएका छन् । महिनावारी भएको समयमा देवता, भूतप्रेत रिसाउँछ्न भन्ने कुरा केवल भ्रम हो, असत्य हो ।

यसैपाली दशैँ लगत्तैको कुरा हो । म आफ्नो क्वाटरमा थिएँ । यत्तिकैबेला इमर्जेन्सीबाट फोन आउँछ–डाक्टरसाब एउटा बिरामी ल्याएका छन, सिरियस छ ।  म हतार हतार इमर्जेन्सी पुग्छु । एउटी सत्र अठार वर्षकी केटीलाई बाटो क्रस गर्दा जेब्राक्रसमा नै बाइकले ठक्कर दिएछ । केटी पुरै बेहोस र रक्ताम्य छ ।  नर्सहरु प्रेसर नाँप्न र नाडी छाम्न लागेका रहेछन । अलिपर बसेर उनका बाबु रुँदै भन्छन–‘डाक्टरसाब रगत बेस्सरी बगेको छ । बाटोमा पनि धेरै रगत बग्यो । कपास राखेर थिच्दिनुस । मैंले छुन मिल्दैन बाउ हुँ, ऊ पर सरेकी छ । राम्रो हेर्दिनु । म अचम्मित भए छोरी मर्ने, बाँच्ने ठेगान छैन । यति खराब हालतमा छे । टाउकोबाट रगतको खोलो बहेको छ । तर एउटा बाबु छोरी नछुने भएको कारण छुन नहुने चिन्ताले ग्रस्त छ । खै कस्तो संस्कार हो हाम्रो ? मर्न लागेको छोरीलाई महिनावारी भएको कारण बाबुले छुन मिल्दैन । कतिधेरै निर्दयी र क्रुर छन हाम्रा कतिपय संस्कार ? आफ्नी छोरीको ज्यान भन्दा ठूलो र महत्वपूर्ण भएको छ संस्कार, नछुने बार्ने प्रथा । यो अवैज्ञानिक सोच र अन्ध विश्वास परम्परागत धारणा हो । हाम्रो समाजमा बिध्यमान यस्तै कु–संस्कार र कुप्रथाको कारण कति चेलीले अनाहकमा जीवन गुमाउनु परेको छ । कतिलाई अभिशप्त जिन्दगी बाँच्नु परेको छ ।

महिनावारी या मासिक धर्म, प्रजनन सामान्य फिजियोलोजी हो । कुनैपनि महिला आमा बन्नको लागि शारीरिकरुपमा सक्षम छिन भन्ने आधार हो महिनावारी नकी जीवनकै अभिशाप । यो प्राकृतिक कुरा हो कसैको छनौट रहर र आमन्त्रण । यसलाई ठूलो र जटिल बनाएर हेर्नु जरुरी छैन । महिनावारीलाई निकृष्ट सोचेर छुट्टै राख्नु पर्दैन । छुट्टै बस्न सकिन्छ तर कुनामा लुकेरै बस्नु पर्ने, छाउ गोठमै बस्नुपर्ने लगायत यावत कुरा वाइयात हुन् ,निन्दनीय छन ।

महिनावारी भएकाबेला कतिपयलाई असाध्यै कष्ट र पीडा हुन्छ । त्यो बेला विश्राम लिनु, पीडा कमगर्ने खानेकुरा खानु र कमजोरी हटाउने स्वास्थ्यवद्र्धक पौस्टिक खानेकुराको आवश्यकता शरीरलाई हुन्छ । रक्तश्रावको कारण शरीरले कमजोरी अनुभव गरेको हुन्छ । यतिबेला रगत बढ्ने खानेकुरा शरीरको लागि अपरिहार्य हो । महिनावारी हुँदा शरीरवाट रगत बग्ने हुनाले तत्कालिन चेतनाले यो अवधिलाई गलत रुपमा बुझ्यो । रगत बह्दा फोहोर हुने , देखिने हुँदा छुट्टै, बेग्लै बस्ने अवस्थाको सिर्जना गरियो । अपवित्र समय सम्झियो । जतिबेला मान्छेहरुसंग लगाउने कपडा हुँदैनथ्यो, पात पतिंगर बेर्नुपर्थ्यो त्यतिबेला बनेको संस्कार आज पर्यन्त चल्नु र जीवित रहनु अब हाम्रो समाजको लज्जा हो । अहिले महिनावारी हुँदा लगाउने प्याडको आविष्कार भएको छ । प्याड नहुने नपुग्ने ठाउँमा पनि कपडा पुगेको छ । सफा कपडालाई पनि प्याडको रुपमा प्रयोग गर्न सकिन्छ ।

त्यो युग जतिबेला कपडा थिएन । चेतनामा कमी थियो । त्यतिबेला निर्मित पर बस्ने यो संस्कार अब स्वास्थ्य शिक्षा, सामग्री उपलब्धताको दृष्टिले , विज्ञान सम्मत धारणाले आकाश जमिनको भिन्नतामा छ । त्यसैले अब यसलाई कायम नै राख्नु भनेको महिलामाथि दमन गर्नु हो । मानसिक र शारीरिक पीडा दिनु हो । मान्छेलाई मान्छेको ब्यबहार नगर्नु हो । तसर्थ अब यो बदल्नुको विकल्प छैन । जसरी हाम्रो शरीरले दिसा, पिसाब, राल, सिंगान, पसिना निस्काशन गर्छ त्यस्तै हो रजस्वला पनि । शरीरले त्याग्ने चिज त्याग्छ । मलमुत्र विसर्जन गरे जस्तै हो मासिक रक्तश्राव । विगत र परम्पराबाट राम्रा विज्ञानसम्मत र चरित्र बनाउने कुरा सिक्ने हो । यस्ता अवैज्ञानिक मान्यता, महिनावारीको छोइछिटो, दलित भनेर भेदभाव, छुवाछुत, बोक्सी आदि जस्ता समाजका कलंक अन्धविश्वास, कुरीति र घीनलाग्दा अमर्यादालाई यथाशक्य मृत घोषणा गरेर अन्त्येष्टी गर्न ढिला गर्नु मानवहित प्रतिकुल हुन्छन ।

हाम्री आमा महिनावारी हुँदैन थिइन भने हाम्रो अस्तित्व पृथ्वीमा जीवित हुदैनथ्यो । हरेक नारी भित्र रहेको शारीरिक प्रकृयालाई सम्मान गरौं । शारीरिक जटिलता पैदा हुने संवेदनशील घडीमा अर्थात रजस्वला भएको बेला महिलालाई यथोचित हेरचाह, सम्मान, स्नेह  र मर्यादा गरौं । नारी अस्मिताको रक्षा सम्मान र स्नेहले मानव जीवन अरु श्रेयस्कर र सभ्य हुनेछ । अन्यथा नेपाल सरकारले वि सं २०६३ मा नै छाउपडी प्रथालाई कुरीति भनेर घोषणा गरिसकेको छ । २०७५ भाद्रदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) एैन २०७४ ले छाउपडी प्रथालाई भेदभाव तथा अन्य अपमानजनक ब्यबहार सम्बन्धी कसुरको रुपमा लिएर मानव अधिकार हनन र फौजदारी अभियोग लगाउने विषयको रुपमा परिभाषित गरेको छ ।