
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अमेरिकी परियोजना मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताउनुभएको छ ।
ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले एमसीसीबारे तत्कालीन नेकपाले गरेका निर्णयमा एमाले अडिग रहेको बताउँदै संशोधनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।
भट्टराईले यसबारे सत्तापक्षको कदम हेरेर एमालेले निर्णय लिने समेत बताउनुभयो । उहाँले सरकारले सम्झौता संसदमा टेवल नगरेसम्म एमालेले त्यसबारे आधिकारिक निर्णय नदिने बताउनुभयो ।
भट्टराईले तत्कालीन नेकपाले बनाएको तीन सदस्यीय कार्यदलको सुझावमा एमसीसी सम्झौता संशोधनसहित अघि बढाउने निष्कर्षमा आफूहरू अडिग रहेको उल्लेख गर्नुभयो । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी ओलीले सरकारको धारणा हेरिरहेको बताउनुभएको थियो ।
प्रचार विभाग प्रमुख भट्टराईले सभामुख अग्निप्रसाद सापकोटा एकलौटी रुपमा अघि बढ्दा संसद बैठकमा नहुनपर्ने गतिविधि हुन थालेको बताउनुभयो । उहाँले प्रतिपक्षी तथा संसदको सबैभन्दा ठूलो दलसमेत रहेको एमालेसँग कुनै छलफल नै नगरि अघि बढ्दा समस्या निस्किएको बताउनुभयो ।
भट्टराईले एमाले फुटाउन भूमिका खेलेको आरोप लागेपछि सभामुखले चित्तबुझ्दो जवाफ दिएर संसद चल्ने अवस्था बनाउनुपर्नेमा पेलेर अघि बढ्नु आपत्तिजनक विषय भएको बताउनुभयो । सभामुख संसदको नेता हुनुपर्नेमा उहाँ सत्तापक्षको मात्रै नेताको रुपमा प्रस्तुत भएकाले एमालेका सांसदहरू आक्रोशित हुनु स्वाभाविक भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्