
खिलनाथ ताजपुरिया
काठमाडौं । समससीमामा विधेयक पारित नभएसँगै यसअघि ल्याइएको अध्यादेश स्वत: निस्क्रिय भएको छ । मंगलबारको संसद अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म स्थगित गर्नुभएको छ । यो सँगै सरकारले अब बिहिबारबाट दैनिकी खर्च गर्न नसक्ने संवैधानिक जटिलतामा छ ।
प्रतिपक्ष एमालेले बजेट प्रतिस्थापन विधेयक पारित हुन नसक्नुको सम्पूर्ण दोष सरकारलाई थुपारेको छ । सरकार र सभामुखकै कारणले संसदमा अवरोध भएको र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने एमाले नेता शेरबहादुर तामाङ बताउनुहुन्छ । सरकारले आफ्नो अक्षमताको दोष एमालेलाई लगाउन नमिल्ने उहाँको भनाइ छ ।
पुरानै अध्यादेशलाई निरन्तरता दिने वा प्रतिस्थापनको प्रक्रिया जारी राख्ने दुविधामा परेको सरकारले सदन चलिरहेको बेला अध्यादेश नल्याउने बताइसकेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्मा केही दिन बजेट होलिडे हुनसक्ने बताउनुभएको थियो । अध्यादेश ल्याउन सरकारले संसद अधिवेशन पुन अन्त्य गर्नुपर्ने हुन्छ ।
कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोशित भएको एमाले यतिबेला सभामुखको भुमिकामाथि प्रश्न खडा गर्दै मार्गप्रशस्त गर्नुपर्ने अडानमा छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकसमेत बहिस्कार गरेको एमाले समस्याको हलको विकल्पका रूपमा सरकार र प्रतिपक्षस्तरीय वार्ता हुनुपर्नेमा दृढ देखिन्छ ।
संघीय व्यवस्थापिका संसदमा जारी गतिरोधलाई अन्त्य गर्न सरकारले कुनै ठोस कदम चाल्नु अपरिहार्य छ । सभामुख र एमालेबीचको टकराव हल नभएसम्म संसदमा एमालेको अवरोध रहिरहनेमा शंका छैन । एमालेको अवरोधबीच बजेट प्रतिस्थापन विधेयक पारित नहुँदा त्यसको मार सर्वसाधारणमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्